बिएल संवाददाता
कोरोना भाइरसका कारण कयौं लाखौ मानिस प्रत्यक्ष प्रभावित भएका छन्। दैनिक ज्याला मजदुरी गर्नेदेखि जागिर खानेसम्मको बिचल्ली हुँदै आएको छ। हजारौले रोजगारी गुमाएका छन्।
मानिसहरुमा मानसिक त्रास त छँदैछ भोकले पनि कमजोर स्थितिमा पुर्याएको छ। खासगरी शहरी क्षेत्रमा बस्ने मजदुर तथा मागिखाने वर्ग रोगसँगै भोकको चपेटामा परेका छन् ।
घटना १.
‘लकडाउन’ बीच गत शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिर परिसरमा एक दम्पत्ति भेटिए। आफूलाई रबी तामाङ भनेर चिनाउने पुरूष रक्सीले लोलाएका आँखा टोलाउँदै बसिरहेका थिए।
उनको छेउमै बसेकी श्रीमतीले हामीसँग केही खानेकुरा दिन आग्रह गरिन्। हामीले तपाईँ किन यहाँ बसेको भन्ने प्रश्नमा उनीहरुले एकै स्वरमा भने, ‘भोक लागेर बसेको।’
त्यसपछि हामीले भिडियो खिच्ने अनुमति माग्यौं। उनीहरू तयार भए। हामीले उनीहरूसँग कुरा गर्दै गर्दा एक जना व्यक्ति विस्कुट बोकेर आए । र मन्दिर परिसरका केही कुकुरलाई बोलाएर खुवाउन थाले।
कुकुरले बिस्कुट खाएको रवि दम्पत्तीले हेरिरहे। सँगैका सहकर्मीले भने, ‘यो व्यवस्थामा मानिसको भ्यालु कुकुरको जति पनि रहेनछ।’
सहकर्मीले थपे, ‘वर्गीय मुक्तिका नाममा हजारौंको बली चढाइएको आन्दोलन सकिएको एक दशक मात्रै बितेको छ। त्यहीँ आन्दोलनको जगमा केही व्यक्तिले खर्बौं सम्पत्ति जम्मा पारे। तर, गरीबको हालत जस्ताको त्यस्तै छ!’
कुरा सुनिरहेका रविले बुझेनन्। तर, रविले पत्रकारलाई आफ्ना कुरा बताए सहयोग मिल्छ भन्ने थाहा रहेछ। उनले भने, ‘मैले टिभी च्यालनका मान्छेलाई भेटेर भन्छु भन्ने सोचिरहेको छु।’
उनीहरुलाई घरबेटीले पनि निकालिदिएका रहेछन्। रविले आफूहरूले घर भाडा तिर्दातिर्दै पनि घरबेटीले घरबाट निकाल्दा सडकमा बास भएको बताए। उनले भने, ‘घरबेटीले मागेर खाने मान्छे राख्दैनौं भनेर निकालिदिएपछि हाम्रो बिचल्ली भएको छ,’ उनले आफूलाई जे–जस्तो भए पनि श्रीमतीलाई बस्न दिएमा खुशी हुने बताए।
उनले लामो समयदेखि आफूहरू मागेर जिन्दगी चलाइरहे पनि घर भाडा निरन्तर तिरिरहेको दाबी गरे।
भक्तपुरको बालकोटमा ३ हजार प्रति महिना तिर्ने गरि एक कोठा भाडामा लिएर बस्न थालेको ९ महिना भएको भन्दै रविले अहिलेसम्म घरबेटीलाई मागेर खाने थाहा नभएको र ‘लकडाउन’ पछि थाहा पाएर घरबाट निकालिदिएको बताए।
घटना २.
‘लकडाउन’ अवधिमा गत साता मात्रै दोलखा घर बताउने एक पुरूष लैनचौरमा हिँडिरहेका भेटिए। कार्यालयबाट फर्किने क्रममा बाटोमा जम्काभेट भएका उनले शुरुमा भोक लागेकाले बीस रुपैयाँ वा बिस्कुट दिन आग्रह गरे। मैले उभिएर उनको टाउकोदेखि खुट्टासम्म हेरेँ। लाग्यो, उनले २/३ दिनदेखि केही खाएका छैनन्।
‘कहाँबाट आउनुभयो ?’ मैले सोधेँ।
‘म मुग्लिङबाट आएको हुँ, होटलमा काम गर्थेँ। हिँडेर आउँदै थिए। बाटोमा झोला नै लुलियो,’ उनले एकै श्वासमा जवाफ दिए।
कालो र मैलो कट्कटिएको कोट, जिन्सको पाइन्ट, स्पोर्ट जुत्ता लगाएका ती पुरुषले आफ्नो नाम श्याम अधिकारी भएको बताए। उनको हुलिया साँच्चै लुटिएजस्तै देखिन्थ्यो। आफूसँग भएको केही पैसा दिएपछि हार्दिकताका साथ उनी आफ्नो बाटो लागे।
यी घटना ‘लकडाउन’ अवधिका प्रतिनिधिमुलक मात्रै हुन्। यो बीचमा निम्न वर्गीय नेपालीले पाएका पीडाको लेखाजोखा नै छैन। भाइरस नियन्त्रणका लागि गरिएको ‘लकडाउनमा’ दैनिक ज्यालादारी गरेर गुजारा गर्ने, मागेर खाने लागायतका निम्न बर्गीय तथा अति गरिबको अवस्था दयनीय बनेको हो।
नेपालमा पनि ‘लकडाउनको झण्डै २ महिना पुगेको छ। यो बीचमा कयौं संघसंस्थाले आ–आफ्नै ढंगले राहत वितरण गरे र गरिरहेका छन्। तर अझै पनि यी माथिका उदाहरणले कहिले राहतको श्वास फेर्ने हुन् यकिन छैन।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया