छाउपडी प्रथा र धामीझाँक्री

छाउपडी प्रथा र धामीझाँक्री

छाउपडी प्रथा वा छुइप्रथा नेपाली समाजको हरेक घरघरको समस्या हो। प्रत्येक हिन्दु धर्मावलम्बी महिला तथा युवतीले प्रत्येक महिना, (रजस्वला ) महिनावारीको समयमा विभिन्न प्रकारका विभेदको सामना गर्दै आएका छन्। विभेदको प्रकृति, छाउ बार्ने तरिका भने भूगोल, समाज अनुसार फरकफरक भएको देखिन्छ।

छाउ भएको समयमा महिलाका निम्ति कतै खुकुलो छ भने कही ज्यादै कष्टकर कुसंस्कारको पालना गर्नुपर्छ। सहर बजारका शिक्षित महिलाहरु छाउ अर्थात रजस्वला भएको समयमा घरको पूजा कोठा र भान्सा छुनबाट बञ्चित हुन्छन् भने अन्य काम सहजरूपमा गर्छन्। भलै बाहिरी आवरण हेर्दा विभेद देखिँदै। जब घरको पुजा, भान्सा वा अन्य धार्मिक कार्यक्रममा छाउ भएकी महिलालाई त्यहाँबाट पर अर्थात टाढा बस्नुपर्ने परिपाटी छ। नेपालको पुर्वी भेगतिर छाउ बार्ने चलन सुदूरपश्चिम र कर्णाली प्रदेशको तुलनामा केहि हदसम्म खुकुलो देखिन्छ। घरबाट टाढा छुट्टै छाउ गोठमा बस्नुपर्ने बाध्यता पुर्वतिर छैन। निरन्तर पाँच दिन नुहाउनु पर्ने बाध्यकारी नियम पुर्वतिर देखिँदैन। देवी देवताको पूजाआजा, धार्मिक कार्य, मठमन्दिरको दर्शन तथा घरको चुलोचौकाबाट टाडा रहनुपर्ने चलन भने छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी प्रथाको अवस्था एकदम डरलाग्दो र विकराल छ। छाउ (रजस्वला) भइसकेपछि उक्त महिलालाई घरको गाई गोठ वा घरबाट पर सानो झुपडी, छाउ गोठमा बस्नुपर्ने  कुचलन छ। छाउ भएकी महिलालाई कसैले छुन मिल्दैन, छोएको खण्डमा गौदान, स्नाहान तथा दान दिनुपर्छ। अझैसम्म जुम्ला, कालिकोट, बाजुरा, अछाम लगायत अन्य जिल्लामा छोरी छाउ भए सातदिन, बुहारी छाउ भए पाँचदिन घरबाट छाउ गोठमा बस्नुपर्ने कुचलन छ। उक्त अवधिभर छाउ हुने महिलाले अनिवार्य साजी (खरानीले कपडा धुने) लगाउने अर्थात लुगा धुने र नुहाउने चलन छ। छाउ अवधिभर दुग्धजन्य पदार्थ छाउ महिलालाई पिउन दिदैँनन्। बोट बिरुवा छुन प्रतिबन्ध हुन्छ। दुग्धजन्य पदार्थ छाउ महिलाले पिए गाई भैंसी थाक्ने र ससाना बोट बिरुवा छोए कुहिन्छ भन्ने अन्धविश्वास रहेको छ।

छाउ बाड्ने  कुप्रथाले वर्षेनि युवती तथा महिलाले ज्यान गुमाएका धेरै घटना मिडियामा आउने गरेका छन्। छाउ गोठमा अक्सिजनको कमीले, सर्पको टोकाइले र अनियन्त्रित रक्तश्रवणले ज्यान गुमाएका धेरै महिला छन्। यस्तो विकराल अवस्थालाई टेवा पुर्‍याउने एकमात्र तत्व भनेको देवता, उसको सेवक धामी र उसले पैदा गरेको डरत्रास हो। कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा मष्टो तथा अन्य तेत्तीस कोटिलाई मान्ने चलन रहेको छ। सबै देवी देवता तथा उनीहरूका सेवक धामीहरुको एकमात्र सार भनेको छुइ या छाउ अपवित्र मान्नु हो। छाउलाई नियन्त्रणमा राखिएन भने अनिष्ट हुन्छ भन्ने धामीहरुको भनाइ हुन्छ।

छाउ नबारे ठूलो पाप लाग्ने, जनधनको क्षति हुने छाउ भएकी महिलालाई घरबाट छाउ गोठमा नराखे उक्त  घरको भलो कहिल्यै नहुने। घरको कुल देवता सदैब उनीहरूसँग रुष्ट हुने अन्धविश्वास धामीले फैल्याएका हुन्छन्। यीनै डरत्रासका कारण छाउबाट सकेसम्म मानिसहर पन्छिन चाहान्छन्।

कर्णाली प्रदेश र  सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा धामीझाँक्रीप्रति मानिसको विश्वास धेरै देखिन्छ। अझ भनौं धामीलाई  पहिलो र अन्तिम विकल्पका रुपमा मान्ने जमात बाख्लो छ। बिरामी भए, चोरी भए, दोषी पत्ता लगाउनु परे, देवी देवतालाई खुसी पार्नुपरे या कुनै गल्तीको क्षमा याचना माग्नुपर्ने अवस्थामा धामीलाई डाकिन्छ। धामीकै माध्यमबाट मानिसहरू समस्याको हल गर्न रुचाउँछन्। आफ्ना पीडा मर्काको समाधानका उपाय खोज्छन्। यदि कोहि वृद्धा, अधबैंसे  बिरामी परेर धामीलाई देखाए भने धामीको पहिलो प्रश्न ए तैंले छुई छाइ बाडिनस्, छुइको हातको खाइस्, भनेको बिरामी हुने मानिसले छाउलाई सहज रुपमा घरमा राख्यो, उसले छोएको खाना खायो भन्नू हो।

भलै उक्त बिरामीले त्यसो गरेको हुँदैन तर अधिकांश धामीको भनाइ यस्तो हुन्छ। उनीहरुको निसाना छाउ प्रथा हुन्छ। धामीको नजरमा छुई नबारेरै यो अवस्था भएको हो भन्छन्। यदि यस्तै छाउ नबारे अनिष्ट हुने तर्क प्राय धामीको हुन्छ। भलै बिरामीलाई अन्य कारणले थला पारेको हुन्छ तर धामीको पहिलो आक्षप छाउ नै हुन्छ। धामीहरु छाउलाई केन्द्रमा राखेर फुकफाक गर्छन् र बिरामी हुनुको प्रमुख कारण छाउलाई छोइएको वा छाउलाई सामान्य रुपमा लिनुलाई मान्छन्। प्रत्येक धामीको एकल प्रस्ताव भनेको  छाउबाट टाढा बस्न चेतावनी दिन्छन्। यदि बिरामीले छाउबाट टाढा नभए ठुलो दुर्घटना हुने भविष्यवाणी समेत गर्न पछि पर्दैनन्।

 

छाउपडी प्रथालाई सबैभन्दा बढी पालना गर्नुपर्छ भनेर डर फैलाउने यी धामी हुन्। अनेक भय डरत्रास फैल्याएर सम्पूर्ण समुदायलाई नियन्त्रणमा राखेर कुसंस्कारलाई टेवा पु¥याउनेमा धामीको भुमिका अहम्  देखिन्छ। धामीको पहिलो काम भनेकै छाउ प्रथालाई सकेसम्म कडा निग्रानीमा राख्ने हुन्छ। छाउ महिलालाई अछुतको व्यवहार गर्नुपर्ने तमाम धामीहरु तर्क राख्छन्। धामीको नजरमा छाउ हुनुभनेको अपवित्र हुनु हो। अछुत हुनु हो, यसकारण छाउ महिलालाई छाउ अवधिभर घरबाट टाढा राख्नुपर्ने कुतर्क कथित धामीहरु राख्छन्। के वास्तविकता कथित धामीले भनेको जस्तै हो त ? निश्चित रूपमा होइन धामीका यस्ता गलत, भ्रामक र तथ्यहिन तर्कबाट नै मानिसमा भय फैलिएको हो। अशिक्षाको जालोमा बसेको समाजलाई ढोङ्गीको अफवाहले थप मानिसमा त्रास थपिएको छ। फलतः छाउप्रति कर्णाली र सुदूरपश्चिम प्रदेशका मानिसको मानसिकतामा रुडिवादी कुसंस्कार, कुविचार थपिदिएको छ।

 

कर्णाली भेगका धामीहरुको मुलमन्त्र आफू र अन्य मानिसलाई छाउ महिलाबाट कसरी धार्मिक र सामाजिक कार्यमा प्रतिबन्ध लगाउँनेमा हुन्छ। यस्तो परिपाटीमा धामीलाई कानुनको दायराभित्र ल्याउन अत्यावश्यक हुन्छ। धामी पनि यहीँ समाजका प्रतिनिधि पात्र हुन्, सुरुवाती चरणमा चेतावनीस्वरुप  धामीहरुलाई सामाजिक तथा कानुनी परामर्श दिनुपर्छ। जसले गर्दा धामी आफै सचेत हुन्छन् नै साथसाथै समुदायलाई रुडिवादी, कुरीतिप्रति सजग हुन मद्दत मिल्छ पनि। जब मानिसको आस्थामा चेतना आउँछ निश्चितरूपमा उसलाई पछ्याउनेमा स्वत सचेतना देखिन्छ। यदि यसो गर्दासमेत धामी अटेरी गर्छन् भने सरासर ऐन बनाएर कानुनी कठघरामा उभ्याउनु पर्छ। अनिमात्र छाउप्रति मानिसको बुझाइमा परिवर्तन आउँन सक्छ।

 

छाउ बार्नु भनेको कुसंस्कारलाई निरन्तरता दिनु हो। चेलिबेटी, आमा दिदिबहिनीमाथि चरम विभेद हो, दमन हो र सामाजिक धार्मिक र सांस्कृतिक यातना हो। छाउ  बारेर न भगवान खुसी हुन्छन् न छाउ भएकी महिला। यो त सरासर रुडिवादी, पृतिसतात्मक पुरातनवादी सोच हो। यस्तै पुरातनवादी सोचलाई निरन्तरता दिँदा आज कर्णाली र सुदूरपश्चिमका छाउ गोठमा कयौं  महिलाको मृत्यु  भएको छ। यी रुडिवादी मानसिकताले कयौं  सानासाना नानीहरू टुहुरा भएका छन्। छाउ गोठहरु चिहान भएका छन्। यसको जिम्मेवारी कसले लिने ? निश्चय नै हामी सबैले त्यस्ता घटनाको जिम्मेवारी लिनुपर्छ। हाम्रै विभेदकारी मानसिकताको कारणले यी घटना घटेका छन्। अब चेतनशील न भए कहिले हुने ?

छाउपडी प्रथाको विषयमा आम जनसमुदायको छाउ मानसिकतामा परिवर्तन ल्याउन आवश्यक छ। रजस्वलालाई प्रत्येक परिवारले सहजरूपमा स्विकार्नु पर्छ। हेरेक स्वस्थ्य महिलाको मासिक तालिकाभित्र पर्ने रजस्वला न कुनै रोग हो न कुनै पाप, यो विशुद्ध प्राकृतिक प्रक्रिया हो। हाम्रा आमा, दिदीबहिनीहरु सबै छाउ हुन्छन्। यो नियमित प्रक्रियालाई आम जनसमुदायले सकरात्मक तवरले स्विकार्ने परिपाटी बसाल्नु पर्छ ताकि हाम्रा आमा दिदीबहिनीको अकालमा मृत्यु नहोस्। हाम्रा दिदिबहिनी, आमाले धार्मिक समाजिक र सांस्कृतिक स्वतन्त्रताको आभास गर्न सकुन।

अर्को महत्वपूर्ण तथ्य के छ भने  रजस्वला रोकिएपछि महिलामा गर्भ बस्छ र नवजात शिशुले  धर्तीमा पाइला टेक्ने अवसर प्राप्त गर्दछ। यस्तो पवित्र प्राकृतिक प्रक्रियालाई हेर्न नजरमा र गर्ने व्यवहारमा परिवर्तन ल्याउन सबै महिला पुरुष एकसाथ लाग्नुपर्छ। हिन्दु धार्मिक ग्रन्थमा रजस्वला सम्बन्धि भएका नकारात्मक टिप्पणीलाई  पुनर्लेखन गर्नुपर्छ। के सहर, के गाउँ समाजको हरेक कुनाबाट यो कुप्रथालाई निर्मुल पार्नुपर्छ। अनिमात्र सभ्य समाजको कल्पना गर्न सकिन्छ। रजस्वलालाई गोठमा होइन पूजा कोठा, बैठक कोठामा, यज्ञ हवनमा स्थान दिनुपर्छ। कथित चलनलाई चिर्दै, विद्रोह गर्दै समाजिक क्रान्तिको थालनी गर्नुपर्छ। त्यसपश्चात हाम्रो आमा दिदीबहिनीको सम्मान र समानता हुन्छ।

  कहरमा अन्तरजातीय विवाह  
१. जातीय विभेदः कानुन र सामाजिक चेत- सचिन तिमल्सेना
२. अन्तरजातीय प्रेमले दिएको पीडा र छोडेको सन्देश - भोला आचार्य
३. दलितको हत्या कहिलेसम्म?- मिमबहादुर परियार
४. शासक फेर्नलाई जनयुद्व, सोच फेर्न कुन युद्व?- रबि नेपाली
५. नवराजको अमर प्रेम कथाले दलित मुक्तिको कथा लेखियोस्-प्रवीणसिंह विक
६. कम्युनिष्ट सरकार! अर्को नवराज हत्या गर्ने छुट छैन- दिपा नेपाली

७. सेती गाउँहरू! जातीय नरसंहार कहिलेसम्म?- अछुत कोपिला
प्रकाशित मिति: Jun 01, 2020 14:49:03

प्रतिक्रिया दिनुहोस