किन मानेनन् विपी कोइराला भारतको सुरक्षा छाताभित्र बस्न?

किन मानेनन् विपी कोइराला भारतको सुरक्षा छाताभित्र बस्न?
विपीले नेहरूको सुरक्षा सम्झौंताको प्रस्तावलाई किन अस्विकार गरे भन्ने विषयमा अमेरिकी गुप्तचर विभागका अधिकारी क्लेरिजले लेखेका छन्, ‘नेहरूको तुलनामा विपी निकै स्पष्ट थिए। नेहरू चीनको चेतावनीलाई रोक्न रणनीतिक रूपमा रुसलाई यो क्षेत्रमा प्रवेश गराउन चाहन्थे। तर, नेहरूको सोचलाई विपीले मान्यता दिएनन्।’
***

नेपाल-भारत सीमा विवाद १ः  भारत–चीन युद्धमा आसाम छिरेको चिनियाँ सेना लिपुलेकमा किन अडियो?
***

नेपाल-भारत सीमा विवाद २  के नेपालको कारण सन् १९६२ को भारत–चीन युद्ध भएको थियो?

 

 नेपाल–भारत सीमा विवाद–३ 

‘कहाँ छ पञ्चशील? यो संसारमा कसले पञ्चशीलको अवधारणालाई अवलोकन गरिरहेको छ? खाली तिमी (नेपाल) र हामी (भारत) ले मात्र पञ्चशीलको विषयमा बोलिरहेका छौं,’

१३ जुन १९५९। 

तत्कालिन भारतीय प्रधानमन्त्री जवहारलाल नेहरूले नेपाल भ्रमणका क्रममा जनसभालाई सम्बोधन गर्दा बोलेको शब्द हो, यो।

सन् १९५५ को अप्रिलमा इण्डोनेशियाको वाण्डुङमा सम्राज्यवाद र उपनिवेशवादको विरोधमा एसिया र अफ्रिकाका बहुमत राष्ट्रले नेहरूकै सक्रियतामा पञ्चशीलको अवधारणा स्विकार गरेका थिए। विश्वको ध्यान खिच्न सफल ‘वाण्डुङ सम्मेलन’ को सफलतापछि नेहरूको कद अन्तर्राष्ट्रियस्तरमा निकै माथि उठेको बेला नेपालमा उनले पञ्चशीलको विषयमा दिएको अप्रत्यासित भाषणले सबैलाई अचम्मित पार्‍यो।  

आखिर त्यस्तो के भयो? जसका कारण नेहरूले राष्ट्र संघपछि प्रभावशाली मानिएको आफ्नो अवधारणाको विषयमा नेपालमा आएर यस्तो वक्तब्य दिनु पर्‍यो। त्यो पनि २००७ सालमा नेपाली क्रान्तिका नायक विपी कोइरालालाई ८ वर्ष सड्यन्त्रपूर्वक नेपाली सत्तामा फर्किन नदिने आफ्नो योजना विपरित बनेको विपीकै सरकारको पालामा भएको नेपाल भ्रमणका क्रममा।

२००७ सालमा राजा, राणा र नेपाली कांग्रेसबीचको त्रिपक्षीय सम्झौंताअन्तर्गत भारतको रोहवरमा दिल्लीमा एउटा सम्झौंता भएको थियो, जसअन्तर्गत नेपालमा अन्तरिम सरकार गठन गर्ने र त्यो सरकारले निर्वाचन गराउने। तर, तत्कालिन प्रधानमन्त्री श्री ३ महाराज मोहन शमशेर राणा प्रजातान्त्रिक परिपाटीअनुसार जनताबाट अनुमोदित सरकार चलाउने भन्दा पनि एक्लौटी रूपमा सरकार चलाउन उद्दत देखिए। यसबाट असन्तुष्ट गृहमन्त्री विपी कोइरालाले विधार्थी आन्दोलनमा मारिएका चिनियाँकाजीको निहुँमा पदबाट राजीनामा गरे। र, २००७ सालको सम्झौता अनुसार सरकार ढल्यो।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनका कमाण्डर भएको नाताले मोहन शमशेरपछि सरकार चलाउने नैतिक अधिकार विपीसँग थियो। तर, नेहरूको दबाबमा तत्कालिन राजा त्रिभुवनले विपीको ठाउँमा उनको दाजु मातृका प्रसाद कोइरालालाई प्रधानमन्त्री बनाए।

यसपछि नेहरूले कोशी सम्झौंता लगायत नेपाल–भारत सम्बन्धमा दूरगामी असर पार्ने, नेपाली सेनालाई प्रशिक्षण दिने बहानामा नेपालको उत्तरी सीमामा भारतीय सेना राख्ने जस्ता थुप्रै सम्झौता गर्न लगाए। सन् १९५४ मा कोशी सम्झांैता हुँदा विपीले आफ्नो दाजुको विरोध गरेका थिए।

सन् १९५९ मा नेपालमा पहिलो पल्ट निर्वाचन हुँदा तत्कालिन राजा महेन्द्रलाई मात्र होइन, भारतलाई पनि लागेको थिएन, विपी कोइरालाले दुई तिहाई मत ल्याएर सरकार बनाउँछन्। महेन्द्र जस्तै भारतको पनि सोच थियो, कुनै पार्टीको बहुमत आउँदैन। तर, १८ फेब्रुअरीदेखि अप्रिल ३ सम्म १ सय ९ सिटका लागि भएको चुनावको नतिजा १० मेमा सार्वजनिक भयो। जसअनुसार ७४ सिट ल्याएर नेपाली कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गर्‍यो। 

विपीको नेतृत्वमा पार्टीले बहुमत ल्याउँदा पनि उनलाई सत्ता सुम्पिन राजा महेन्द्रले तीन महिना समय लगाए। राजा महेन्द्र प्रधानमन्त्रीको रूपमा विपीभन्दा पनि सूवर्ण शमशेर राणालाई हेर्न चाहन्थे। उनले सूवर्णलाई ‘अफर’ पनि गरेका थिए। तर, सूवर्णले आफ्नो नेता विपी भएको भन्दै प्रधानमन्त्री बन्न अस्वीकार गरे।

सत्ता सुम्पिन राजाले गरिरहेको विलम्बलाई विपीले भारतीय दबाबको रूपमा पनि हेरेका थिए। त्यसैले उनले आफ्नो मन्त्रीमण्डलमा समावेश भद्रकाली मिश्रलाई नेहरूको पक्ष बुझ्न भारत पठाएका थिए।

सूवर्णलाई प्रधानमन्त्री बनाउने योजना असफल भएपछि राजा महेन्द्रले २७ मे १९५९ मा विपीलाई प्रधानमन्त्रीको रूपमा सरकार बनाउन निम्तो दिए। रोचक कुरा, विपी प्रधानमन्त्री भएको १५ दिनभित्रै नेहरू काठमाडौं ओर्लिए।

विपी कोइरालाको पालामा भारत–चीन सम्बन्ध चिसिन थालिसकेको थियो। ३१ मार्च १९५९ मै दलाई लामा तिब्बतबाट भागेर भारत प्रवेश गरेका थिए। खम्पाहरूको गतिविधिले नेपालको उत्तरी सीमामा तनाव बढ्न सुरू भइसकेको थियो। यस्तो अवस्थामा विपीलाई  विश्वासमा लिन ११ जुन १९५९ मा काठमाडौं उत्रिएका नेहरूले त्रिभुवन विमानस्थलबाटै प्रतिक्रिया दिए, ‘हिमाली क्षेत्रको जुन अनुकम्पा छ, यसले हामीलाई असर पर्न दिँदैन। हिमाली क्षेत्र नेपाल र भारतको परापूर्वकाल देखिको साथी हो र हाम्रो रक्षा गरिरहेको छ। यसले हाम्रो भाषा, कलासंस्कृति तथा धर्मलाई पनि बाँधेको छ।’

यसै दिन राजा महेन्द्र र रानी रत्नाले दिएको भोजमा नेहरू पुनः यो स्मरण गराउन चुकेनन्, ‘हामीले यो कुरा ध्यानमा राख्नैपर्ने हुन्छ, कुनैपनि गतिविधि हामी दुई देशको बीचमा हुन्छ, जस्तै सीमामा, जुन एकअर्कासँग जोडिएको छ। यसले दुबैलाई असर पार्छ नै।’

वास्तवमा नेहरू यो भ्रमणमा भारत–चीन सीमा विवादमा नेपाल–भारतको धारणा एउटै बनाउन चाहन्थे। नेपाल स्वतन्त्र राष्ट्र भएको हुनाले दुई देशबीच थुप्रै कुरामा विमति राख्न वा हुन सक्ने उनको भनाई थियो। तर, सुरक्षाको विषयमा आम सहमति बनोस् भन्ने उनको चाहना थियो।

नेहरूको तीन दिने भ्रमणमा पहिलो पल्ट दुई देशले १४ जुनमा साझा धारणा सार्वजनिक गरे। जसमा भनिएको थियो, ‘लामो छलफलका क्रममा विभिन्न मुद्धाहरूमा कुरा भए, जसमा अन्तर्राष्ट्रिय परिस्थिति र तिब्बतमा निर्माण भइरहेको नयाँ राजनीतिक विकाश क्रम र दुई देशले झेल्नु परिरहेको सामाजिक तथा आर्थिक समस्यामा गम्भीर छौं।’

यो भ्रमणमा नेहरू चीनविरूद्ध विपीसँग सैन्य सहमति जुटाउन चाहन्थे। तिब्बतमा भइरहेको चिनियाँ गतिविधि प्रति विपी र नेहरूबीच धेरै कुरामा वैचारिक सहमति थियो। तर, विपीले चीन–भारत विवादमा बचेर काम गरे। कुनै उत्ताउलोपना प्रदर्शन गरेनन्। नेहरूको सैन्य सम्झौंतालाई विपीले पूर्ण रूपमा अस्विकार गरे।

अझ नेहरूको भ्रमणमा सन् १९५२ ताका मातृका प्रसाद कोइराला प्रधानमन्त्री भएको बेला ‘इन्डियन मिलिट्री मिशन’ अन्तर्गत नेपाली सेनालाई तालिम दिन आएका तथा नेपालको उत्तरी सीमामा बसेको १७ वटा भारतीय चेक पोस्ट हटाउने कुरा उठ्यो। नेपाली कांग्रेसले नेपाल–भारत सम्बन्धलाई सुमधुर बनाउन भारतबाट आएको ‘इन्डियन मिलिट्री मिशन’ तथा ‘इन्डियन सिभिलियन एक्सपर्ट’ अविलम्ब हटाउनु पर्ने माग १९५४ मै राखेको थियो। भारतीय लेखक एमजी गुप्ताका अनुसार नेपालमा पहिलो भारत विरोधी भावना यहीबाट उठेको थियो। सन् १९८५ मा प्रकासित उनको ‘इन्डियन फरन पोलिसी, थेउरी एण्ड प्राक्टिस’ मा उनले नेपालमा भारत विरोधी भावना बढ्नुको कारण व्याख्या गरेका छन्।

भारतीय सेनाको विषयमा नेहरूले पहिलो पल्ट नेपाली जनतालाई यही भ्रमणमा आश्वस्त बनाउन खोजेका थिए। उनले ‘इन्डियन मिलिट्री मिशन’ को विषयमा उत्तर दिँदै भने, ‘उनीहरू त्यहाँ नेपालको आग्रहमा गएका हुन् र उनीहरू नेपाली जवानको तालिम पुरा भएपछि त्यहाँबाट हटेर आफ्नो ठाउँमा फर्किने छन्, यदी नेपालले चाहना राख्छ भने।’

नेहरू नेपालको भ्रमण पुरा गरेर फर्किएपछि राजा महेन्द्रको उस्काहटमा प्रतिपक्षी दलले विपीलाई चौतर्फी आक्रमण गरे। र, यतिसम्म आरोप लगाउन भ्याए– ‘नेहरूसँग डिफेन्स सम्झौंता भइसकेको छ। विपीले नेपालको सार्वभौमता बेचे।’

सन् १९५८ को जनवरीमा अमेरिकी गुप्तचर विभागको जिम्मेवारी सम्हाल्न पहिलो पल्ट नेपाल आएका पूर्व सिआईए प्रमुख डुवाने आर क्लेरिजले आफ्नो किताब ‘अ स्पाई फर अल सिजन्सः माई लाइफ इन द सिआईए’ मा यो घटनाको वर्णन गरेका छन्। विपीले नेहरूको सुरक्षा सम्झौंताको प्रस्तावलाई किन अस्विकार गरे भन्ने विषयमा क्लेरिजले लेखेका छन्, ‘नेहरूको तुलनामा विपी निकै स्पष्ट थिए। नेहरू चीनको चेतावनीलाई रोक्न रणनीतिक रूपमा रुसलाई यो क्षेत्रमा प्रवेश गराउन चाहन्थे। तर, नेहरूको सोचलाई विपीले मान्यता दिएनन्।’

विपी जवहारलाल नेहरूको असलंग्न नीतिलाई ढुलमुले भन्थे। उनले थुप्रै ठाउँमा नेहरूको नीतिको विरोध पनि गरेका छन्। विपीको विषयमा क्लेरिजले लेखेका छन्, ‘एकपल्ट विपीले मलाई भने, इजिफ्टमा अंग्रेज–फ्रान्सले हमला गर्दा कडा शब्दमा निन्दा गर्ने नेहरू रुसले हंगेरी कब्जा गर्दा चुप लागेर बसे।’

विपी विश्वमा भइरहेको राजनीतिक परिवर्तनलाई नेपालको राजनीतिको कोणबाट विश्लेषण गर्थे। ‘हरेक राजनीतिक घटना क्रमलाई त्यसको गुण अनुसार छनोट गर्थे। उनी नेहरूको असलंग्न नीतिभन्दा स्विट्जरल्याण्डको तटस्थता (कुनै देशसँग सैन्य तथा राजनीतिक विवादमा नअल्झिने नीति) सँग नजिक थिए,’ क्लेरिजले भनेका छन्।

नेहरूको नेपाल भ्रमणको ७ महिनापछि विपीले भारतको भ्रमण गरे। यसबीच उनलाई चीनले पनि भ्रमणको निम्तो दिइसकेको थियो। नेहरू कुनै पनि हालतमा विपी चीन नजाओस् भन्ने चाहन्थे। (यसको चर्चा अर्को अंकमा गरौंला।)

यो पनि हेर्नुहोस्

नेपाल-भारत सीमा विवाद १ः  भारत–चीन युद्धमा आसाम छिरेको चिनियाँ सेना लिपुलेकमा किन अडियो?

नेपाल-भारत सीमा विवाद २  के नेपालको कारण सन् १९६२ को भारत–चीन युद्ध भएको थियो?

प्रकाशित मिति: Jul 07, 2020 13:18:23

प्रतिक्रिया दिनुहोस

सबै