युरोप यात्राका केही सम्झनाहरु

Breaknlinks
Breaknlinks

२५ अगष्ट २०१२ अर्थात हामीले युरोप टेकेको दिन। २४ अगष्टको बेलुकी ९.२० बजे युरोपको सुन्दर, शान्त र मनमोहक देश स्वीट्जरल्याण्डको डाभोसमा आयोजना हुन लागेको चौथो अन्तर्राष्ट्रिय विपत न्युनिकरण सम्मेलनमा भाग लिन काठमाडौं महानगरपालिकाको तर्फबाट साथी विनोद भट्टराई र म त्यसतर्फ लागेका थियाैंं।  

बाल्यकालमा दिनभरि अघाउन्जेल मोटर चढन पाए कस्तो न हुन्थ्यो जस्तो लाग्थ्यो। तर यस पटक प्लेन चढ्दा भने त्यस्तो लागेन। तोकिएको समयमा इत्तिहाद एयरलाइन्सबाट काठमाडौं  हुँदै अबुधाबी उड्यौंं। रात्रीकालिन समयमा आकासको यात्रा भएकोले काठमाडौंको आकाश सकिने बित्तिकै बादलभन्दा माथिबाट तलतिर हेर्दा केहि देखिदैनथ्यो। प्लेन चढेको केहिबेर मै सायद हामी दिल्लीको आकासमा थियाैं होला,  एयरलायन्सले स्वादिष्ट खाना पस्कियो। 

खाना खाएसँगै निदाइएछ, करिब ४ घन्टापछि ओर्लनेबेला सिटवेल्ट बाध्नको लागि परिचारिकाद्धारा अनुरोध भएपछि मात्र थाहा भयो, अबुधाबी आइपुग्न लागेको। अबुधाबीमा एकघन्टा ट्रान्जिट थियो। जहाजबाट ओर्लिए लगत्तै जर्मनीको डुसेलडर्फ तर्फको उडानका लागि चेक–इन गराइयो। त्यहाँबाट पनि तोकिएको समयमै इत्तिहाद एयरलाइन्सको अर्को अलिक ठूलो विमानले हामीलाई चिलसरी उडायो। मध्यरातको समय अबुधाबीलाई आकाशबाट नियाल्दा झिलिमिलि बत्तिको उज्यालोले तिहारको याद दिलाएको थियो। 

बिहान डुसेलडर्फ आइपुग्न आधा घन्टा बाँकी हुँदा निद्राले छोडेछ र लगभग चालिस हजार फिट माथिबाट तलको दृश्यावलोकन गर्दा मनै फुरुङ भयो। राहदानी बोकेर विदेशको भ्रमण गरेका कारण यो क्षण मेरो लागि अविश्मरणीय थियो। सुनेको मात्र थिए– युरोप अत्यन्त व्यवस्थित र विकसित छ रे। तर हेर्ने मौका पहिलो पल्ट जुर्दैथियो। 

विमान माथिबाट जर्मनीको फराकिलो सडक, हरियाली जंगल, सफा खोला, नदी र तालहरु देख्दा मनै त्यसै त्यसै फुरुङ। केहिबेरमा हामी डुसेलडर्फ विमानस्थलमा ल्याण्ड गर्यौं। 

विमानस्थल उत्रे लगत्तै सबै यात्रुसँगै अध्यागमनतर्फ पुग्दा कर्मचारीहरु के कामको लागि आएको र कहिलेसम्म बस्ने भनेर प्रश्नको बौछार गर्न लागे। हुन त त्यो स्वभाविक थियो तर हाम्रो कमजोरी भनेको हामी एकदम हतारमा होटलसमेत बुकिङ नगरी हावाको भरमा काठमाडौंबाट पोखरा गए जस्तो उडेका थियाैंं। 

पहिलो विदेश भ्रमण भए पनि हामीले अनुभवीसँग न सल्लाह–सुझाव लिएका थियाैं न कसैले हामीलाई विदेश जाँदा अपनाउनु पर्ने सावधानी बताएका थिए। अध्यागमनका कर्मचारीले एकपछि अर्को प्रश्न सोधेर हामीलाई आजित बनाइसकेका थिए तर हामी हरेस खानेवाला कहाँ थियाैंं। उनीहरुले जति प्रश्न गरेँ, हामीले निर्भिकतापूर्वक त्यसको उत्तर दियौंं। अन्त्यमा हामीले लगेको डलर प्रत्यक्ष हेरेर मात्र उनीहरुले हामीलाई आफ्नो देशमा प्रवेश गर्ने अनुमति दिए। 

एसियाभरि जहाँ घुमे पनि आफ्नै महादेश न हो। तर हामी यतिबेला फरक महादेशमा थियाैं। यहाँ पनि हाम्रो पाँच घन्टा लामो ट्रान्जिट थियो। त्यसैले विचार गर्यौं– नौलो ठाउँका किन मुख्य–मुख्य स्थान नघुम्ने?

मनमा अर्को डरले पनि डेरा जमाइरहे कै थियो। जर्मनीमा त हामीलाई यतिबिधि कडाईं गर्यो भने स्वीट्जरल्याण्डमा के होला? त्यसैले विमानस्थल बाहिर निस्केर जर्मनी प्रष्ट झल्कने साइनबोर्ड आउने तथा गाडीका नम्बर प्लेट देखिने गरि फोटाहरु खिच्यौं र फेसबुकमा अपलोड पनि गर्यौंं।  

कम्तीमा तोकिएको स्थान पुग्ननसके पनि डुसेलडर्फ वरिपरि त घुमौ भनेर हामी विमानस्थल सँगैको अन्डरग्राउण्ड मेट्रो रेल स्टेशन हुँदै ट्याक्सीबाट घुम्ने उद्धेश्यले बाहिर निस्किएका थियाैं। ट्याक्सी ड्राइभरलाई त्यहाँका मुख्य–मुख्य घुम्नलायक स्थानमा घुमाइदिन अनुरोध गर्दा अंग्रेजी नबुझ्ने भन्दै एकले अर्को, अर्कोले अर्को गर्दै सात आठ जना ट्याक्सी ड्राइभरको भिड नै जम्मा भयो। सबै ‘नो इङ्लिस अण्डरस्ट्याण्ड’ भन्दै पछि सरे। यसपछि हामीसँग एउटै विकल्प थियो डुसेलडर्फ घुम्ने इच्छा परित्याग गर्दृ पुन: विमानस्थल फर्किएर पाँच घन्टाको समय बिताउने। 

निश्चित समयमा जुरिकका लागि एयर वर्लिनको जहाज चढ्दा मध्यान्हको एक बजिसकेको थियो। एक घण्टा बीस मिनेटको हवाई यात्रामा स्वीट्जरल्याण्डको जुरिक पुगिने छोटो हवाईयात्रा र खुलेको मौसमले सुनमा सुगन्ध छर्यो। तलको सुन्दर दृश्य नियाल्दा नियाल्दै जुरिक कतिबेला आइपुगियो पत्तै भएन। जुरिक निकै चिसो थियो। सुटकेशबाट न्यानो कपडा झिकेर लगाई हामी हाम्रो गन्तब्य स्थल डाभोसको लागि रेल स्टेशनतर्फ लाग्यौंं।

जुरिक अन्तर्राष्ट्रिय विमानस्थलबाट डाभोसको लागि रेलको टिकट लिएर रेल चढियो र जुरिक मेन सिटीमा ओर्लिइ त्यहाँबाट लङकर्टसम्म अर्को रेलमा गइयो भने लङकर्टबाट डाभोसका लागि छुट्टै अर्को रेल चढेर गयौं। 

स्वीट्जरल्याण्ड जस्तै नेपाललाई बनाउने कुरा त मैलै मात्र हैन आम नेपाली सबैले हाम्रा नेताज्यूका भाषण मार्फत सुनै कै हो तर कसरी नेपाललाई त्यस्तो बनाउने होलान् भन्ने कौतुहलता म भित्र जागिरहेको थियो र ध्यानपूर्वक रेलको झ्यालतर्फ बसेर बाहिरको दृश्य नछुटाई नियालिरहेको थिएँ।

भौगोलिक वनावटको आधारमा तुलना गर्ने हो भने नेपाल र स्वीट्जरल्याण्डबीच धेरै समानता पाउन सकिने रहेछ। यहाँ जस्तै साना, मझौला र ठूला उपत्यका, डाँडाकाँडा, हरियालीयुक्त सुन्दर पहाडै पहाडको फेदी भएर राजमार्गहरु बनेका रहेछन्। यहा त केवल सडकमार्गमा गाडी गुड्छ्न् भने त्यहाँ त पहाडै पहाडमा पनि रेल गुडने रहेछ।

समथर नेपालको पोखरा जस्तै समथर जुरिक सिटिबाट रेलमा गुडेका हामी करिब साँढे दुई घन्टापछि नेपालको पर्वत, वाग्लुङ, म्याग्दी,वेनी, जोमसोम हुँदै कागवेनी गए जस्तै डाभोस पुगियो। लगभग एक रात एक दिनको जहाज तथा रेलको यात्राले हामी निकै थाकेका थियाैं। थकाइका बीच पनि नेपालको कागवेनी जस्तै लाग्ने डाभोस प्लाट्ज भन्ने ठाउँ पुग्दा त्यो हाम्रो लागि अत्यन्त अविश्मरणीय बनेको थियो।

रेलबाट झरेपछि अर्को समस्या आइलाग्यो किनभने हाम्रो होटल बुकिङ थिएन। सुटकेस घिसार्दै होटलको खोजीमा लाग्दा एक स्थानीयवासीको सह्याेगमा दैनिक एकसय बीस स्विस फ्रैंक तिर्ने गरि रेल स्टेशन नजिकै रहेको होटल ओस्चेनमा कोठा पाइयो। 

अब हाम्रो वासस्थान पनि पक्का भइसकेको थियो। त्यसैले हामी पहिलेभन्दा ढुक्क भएर होटलमा आफ्नो सबै सामान थन्काइवरि घुम्न बाहिर निस्कियौं। लामो यात्राको थकाइ, अमिल्दो खानपानलाई व्यवस्थित गर्ने उद्धेश्यले नजिकैको रेष्टुरेन्टमा गएर मेनुमा नेपाली नभए पनि इण्डियन जस्तै खानाको लागि आँखा दौडायौं तर के पाइयोस् त्यस्तो खाना? त्यहि कै पिज्जा, वर्गर र सफ्ट ड्रिंक लिई होटलमा फर्किएर दोश्रो दिनको यात्रा पनि टुङ्ग्यायौं।

२६ अगष्ट दिउसो ४ बजे मात्र डाभोस प्लाट्जमा ग्लोबल रिस्क फोरमको आयोजनामा चौथो अन्तर्राष्ट्रिय विपत न्युनीकरण सम्मेलन सुरु थियो। बिहान हामीले हाम्रो सहभागिता सुनिश्चित गरिसकेपछि थप पाँच घन्टाका लागि फुर्सदिलो भएका थियाैं। 

यही फुर्सदको फाइदा उठाउने उद्धेश्यले हामी डाभोस प्लाट्ज नजिकैको डाँडोमा मिनी रेल चढेर गयौं। माथी डाँडामा जानको लागि मिनी रेलको व्यवस्था र चढनका लागि होटलले उपलब्ध गराएको एलो कार्ड देखाएपछि निःशुल्क हुने रहेछ। त्यसो त त्यो कार्ड भएपछि त्यहाँको लोकल बस चढन पनि पैसा नलाग्ने रहेछ। फराकिला सडक। सडक जता हेर्यो उतै सुन्दर सफा, हरियालीले हामीलाई अचम्मित बनाएको थियो। 

सार्वजनिक सडकका बस स्टपहरु अनि बसहरु पनि बालबालिका, वृद्धवृद्धा र अपाङ्ग मैत्री प्रविधिबाट निर्माण भएकोले सोही अनुसार सुविधाजनक तवरले संचालित हुने रहेछन्।

औपचारिक रुपमा जुन कार्यक्रमका लागि भनेर हामी त्यहाँ गएका थियाैं, त्यसमा हामीले अरु भन्दा छुट्टै आफ्नो पहिचान दिनु पर्दछ भन्ने उद्धेश्यले नेपाली ढाका टोपी लगाएका थियाैं। जब हामी कार्यक्रम स्थल डाभोस प्लाट्ज पुगेका मात्र के थियाैं कैयाैंनेपाल र नेपालीहरुलाई अत्यन्त माया गर्ने स्वीसहरुबाट न्यानो आतिथ्य पायाैं। 

हाम्रो पहिरन देख्ने वित्तिकै उनीहरुले सोधे–‘आर यु फर्म नेपाल?’ हामीले हो भन्यौं। स्वीसहरुले नेपाल र नेपालीहरुलाई साच्चै माया गर्ने रहेछन्।  उनीहरु करिब बीस, पच्चिस वर्ष पहिले नेपाल पुगेर गोर्खा, जिरी, पोखरामा आफूहरुले स्वीस विकास नियोगको स्वंयमसेवक भएर काम गरेको अनुभव नेपाली भाषामा सुनाउँदा साह्रै आनन्द लागेको थियो। 
यहाँ भेटिएका केही स्वीसले २०५० सालमा नेपालमा आएको बाढी पैरोले राजमार्गका पुलहरु बगाउँदा वेलीब्रिज लिएर नेपाल गएको अनुभव सुनाए। नेपालप्रति उनीहरुको माया र चासोले हामीलाई उत्साहित बनायो। त्यसैक्रममा सम्पूर्ण विश्वबाट भाग लिन आएका करिब हजार जना सहभागीको उपस्थितीमा तोकिएको समयमै कार्यक्रम सुरु भयो।

सुरुमा सबैलाई सवैको करिब २५।३० भाषा अर्थात आ–आफ्नै भाषामा स्वागत भन्ने क्रममा ‘तपाईलाई स्वागत छ’  भन्ने नेपाली शब्दहरु देख्दा मन झनै प्रसन्न भयो। त्यति ठूलो कार्यक्रममा नेपाली शब्द कसरी राखे भनेर मेरो मनमा कौतुहलता नजागेको होइन। तर दिपक चम्लागाई नाम गरेका एक नेपाली, जो आयोजक कमिटीमा पनि संलग्न हुनुहुन्थ्यो, उहाँले नै हामीलाई जानकारी दिनुभयो। उहाँ कमिटीमा समावेश भएको कारण यो अवसर जुरेको रहेछ।

प्राकृतिक विपद र सोबाट उत्पन्न हुने जोखिम न्युनिकरणका लागि सबै मिलेर साझा एजेण्डा तयार पार्नुपर्ने विषयमा विभिन्न विशेषज्ञबाट गहन बिचार व्यक्त भयो। कार्यक्रममा नेपाल जस्तो उच्च जोखिममा रहेको राष्ट्रको न्युन सहभागितालाई हामी महानगरपालिकाबाट दुई जना, नेपाल सरकार वन मन्त्रालयका पशुपतिनाथ कोइराला, दिपक चम्लागाई, एनसेटका प्रतिनिधि, इसीमोडका प्रतिनिधि गरि जम्मा छ जनाको उपस्थिती पनि निकै अर्थपूर्ण थियो। औपचारिक उद्घाटन तथा पुरस्कार वितरणपछि पहिलो दिनको कार्यक्रम समाप्त भयो।

२७ अगष्टको दिन बिहान ८ बजे कार्यक्रम सुरु भयो र शिक्षा स्वास्थ्य लगायतका विभिन्न विषयमा भएका सामुहिक छलफल कार्यक्रममा सहभागी भई विभिन्न देशबाट आएका प्रतिनिधिसँग साक्षात्कार गर्ने अवसर पनि जुर्यो। पहिलो सत्रको कार्यक्रमपछिको लन्च ब्रेकमा समावेश हुन डाभोस नजिकै रहेको पर्सियन हिलमा मिनी ट्रेनबाट लागियो। त्यो पर्सियन हिलको चुचुरोमा पुग्दा नेपालको कागवेनीबाट माथि मुक्तिनाथ चढे जस्तै लाग्दो रहेछ अर्थात भू–बनावट नेपालको कागवेनी, मुक्तिनाथ जस्तै। उक्त पर्सियन हिलको चिसो सिरेटोमा सेताम्मे हिउँमा खेल्दै हिउँमै कोरेर ‘ हामी स्वीटजरल्याण्ड जस्तै देश नेपालबाट आएको’ जानकारी पनि छोड्यौं। 

सगरमाथाको देशबाट गएको मलाई जीवनमा पहिलो पल्ट त्यहाँ हिउँ खेल्ने अवसर मिलेको थियो। तर हामीसँग समय कम भएकोले सोही दिन बेलुकी जर्मनीको बर्लिन जानु पर्ने विवशताका बीच हतार हतार डाभोस छोड्नु पर्यो। 

हामीले जुरिक पुगेर युरो टेक्न पाँच दिने प्याकेज लिएका थियाैं र बेलुकी पौने नौ बजे बर्लिनका लागि ट्रेन टिकट पनि निश्चित गर्यौं। त्यो लोकल ट्रेन स्टेशनबाट अन्तर्राष्ट्रिय स्टेशनमा पुग्न हामीलाई करिब १५ मिनेट लाग्थ्यो। यतिबेला साँझको भनौ या दिउँसोको ६ बज्न लाग्दै थियो। त्यसैले अब हाम्रा लागि लगभग तीन घन्टा बाँकी थियो तर त्यहाँको दिउसै अर्थात त्यहाँ साँढे नौ बजे घाम अस्ताउना साथ रात पर्ने रहेछ। लोकल ट्रेनमार्फत जुरिक मेन सिटी जाने क्रममा साथी विनोद र म छुट्यौं। विनोद अघिल्लो ट्रेनमा गएकोले म एकछिनपछि अर्को ट्रेनमा गएँ तर ट्रयाक फरक भएकोले म साथीलाई खोज्ने, साथी मलाई खोज्ने तर कोही पनि नभेटिने कारणले हामीलाई एकछिन तनाब भयो। 

हामीसँग एउटा मात्र एण्ड्रोइड फोन थियो। त्यसैले दुवै सम्पर्कमा आउन पनि सकेनौ। जति जति समय बित्दै थियो, हामी उत्तिनै तनावमा थियाैं। झट्ट मलाई साइबर क्याफेमा गएर म्यासेन्जरमा आफू भएको स्थानको जानकारी दिएर म्यासेज छोडने बिचार आयो र छोडे पनि तर साथीले ट्रेन छुटने समय हुनै लाग्दा पनि त्यो म्यासेज नहेरेर बहुत तनाव भइरह्याे। अन्तिममा समय ख्याल गरेर वर्लिन जाने ट्रयाक १७ मा साथी हस्याङ्गफस्याङ्ग गर्दै आइपुग्नाले खुसीको सिमा रहेन।

करिब दश घन्टा लाग्ने जुरिक वर्लिन रेल यात्रा तोकिएको समयमा रेल हिँडेकोले हामी खुसीसाथ वर्लिनतर्फ प्रस्थान गरयौं। स्वीट्जरल्याण्ड र जर्मनीको सिमाना पर्ने बजेल भन्ने ठाउँसम्म त निदाइएको थिएन तर पछि निदाइयो रातभरि। बिहान नौ बजे वर्लिनस्थित वाहनफ टेक्न स्टेशन पुगियो। पुगेको एकै छिनमा भतिजी सविना तिवारी हामीलाई लिन आइपुगिन् र उनी कहाँ पुगे पश्चात वर्लिनका मुख्य मुख्य स्थानहरु घुम्ने योजना बनाइयो। हाम्रा लागि भनेर सविना र उनका श्रीमान सरोज चुडालले दिनभरि बिदा लिएर लगाएको गुनलाई बिर्सनु उनीहरु प्रति ठूलो अन्याय हुन जान्छ। 

२८ अगष्ट बिहान सविनाले तयार पारेको ब्रेकफास्ट लिएर जर्मनीमा रहेको नेपाली दुतावासमा गइयो। जहा नेपाली राजदुत सुरेश प्रधानसँगै प्रकाश पौडेल,  देवदुत ढकालसँग केहिबेर गफिएपछि वर्लिन सिटी टुरका लागि निस्कियौं।

अत्यन्त हरियालीले भरिपूर्ण वर्लिन सहरको जुनै ठाउँमा पुगेपनि एउटै नदीले पच्छ्याइरह्याे, जसको नाम स्प्री रहेछ। अझ त्यस नदीको मुख्य विशेषता भनेको अचम्म त्यो त प्राकृतिक नभई मानव निर्मित रहेछ र सहरका विभिन्न ठाउँ घुम्नलाई पानीजहाजबाट दिनभरिको प्याकेज पनि पाइने रहेछ। तर हामीले सिटी बस र मेट्रो ट्रेनबाट केही महत्वपुर्ण स्थानहरु मात्र घुम्ने निधो गरयौं। त्यसैले सर्वप्रथम वर्लिन गेट पुग्यौं जहाँ नजिकै रहेको दुई जर्मन हुँदाको पर्खालको अवशेषहरु समेत देख्न पाईयो र सो अवशेषलाई पृष्ठभूमी बनाएर फोटो समेत लियौं।

वर्लिनको मुख्य सिटीमा अवस्थित एउटा सुपरमार्केटमा रहेको दुईसय वर्ष पुरानो पानी घडी, जुलोजिकल पार्क, जर्मन संसद भवन– (वुन्डस्ट्याग), चान्सलर निवासलगायत विभिन्न स्थानको अवलोकन भ्रमणले हामीलाई कौतुहलता जगाइरह्याे। त्यसैगरि दिनभरिको घुमाईंको क्रममा वाहनफ ट्रेन स्टेशन नजिकैको रेष्टुरेन्टमा गएर टर्किस डिस डोनर कबाब खाइयो, जुन अत्यन्त स्वादिष्ट पनि लाग्यो। यसरी हाम्रो पहिलो दिनको वर्लिन यात्रा वर्लिन टावर नजिकैको चोकमा गएर साँझपखको रमाइलोमा रमेर समाप्त भयो।

२९ अगष्ट बिहानै देखि किनमेलमा गइयो। युरोपको चिनो घरपरिवार साथीभाई केहि न केही ल्याइदिनु थियो र त्यसैमा बित्यो र फेरि बेलुकी फ्रान्सको पेरिसका लागि ट्रेन टिकट कन्फर्म गर्नु थियो र सो पनि गरियो। हामीले युरोपको महंगो सहर वर्लिनमा के नै किनमेल गर्न सक्थ्यौं र! तैपनि घर परिवार साथीभाई आफन्तको लागि विभिन्न सपिङ स्टोरमा पुगेर केही कपडा, मिठाईहरु खरिद गर्यौं, जसका लागि सविनाको ठूलो सह्याेग रह्यो।

डा. सरोज चुडालले हामीलाई रक्तचाप र सुगर चेक गर्ने मेसिन किन्न सल्लाह दिएकोले सो पनि किन्यौं। साथै दुई दिनभरि हामीलाई घर परिवार बिर्साउने गरि बीचमा छुटेको नेपाली खानाको क्रमलाई सविनाले निरन्तरता दिइन दालभात, तरकारी अचारबाट। त्यहाँ रहेका अन्य नेपालीलाई गाह्रो अप्ठ्यारो पर्दा सविनाले गर्ने सह्याेगका कारण भेटिएका नेपालीहरु तथा दुतावासका कर्मचारीहरुले मुक्त कण्ठले प्रसंसा गरेको सुन्दा साह्रै खुसी पनि लाग्यो।

विभिन्न स्थानहरु घुम्ने क्रममा महत्वपूर्ण र अमूल्य कुरा देखियो। यहाँ पैसट्ठी हजार युरो पर्ने रोलेक्स घडि समेत देखियो, जसको नेपाली मूल्य करिब पचहत्तर लाख हुने रहेछ। यिनै र यस्तै यस्तै विभिन्न नयाँ ठाउँमा नयाँ नयाँ कुराहरु हेर्दै बुझ्दै हाम्रो दुई दिनको बसाईं समाप्त भयो।

जहाँ हामी अत्यन्त नजिकबाट आतिथ्यता प्रदान गर्ने सविना र सरोजजीले हामीलाई बेलुकी करिब ७ बजे पुनः वाहनफ ट्रेन स्टेशनबाट पेरिसका लागि गरेको बिदाई सँधैभरि हाम्रा लागि अविश्मरणीय रहि रहनेछ।

२९ अगष्ट बेलुकी जब हामी पेरिसका लागि छुट्यौं, रात नपर्दासम्म रेलबाट बाहिर देखिने भौगोलिक अवस्था भनेको नेपालकै तराईको यात्रा जस्तै समथर भू–भागको यात्रा अझ भनौ इण्डियाको रेल यात्रा जस्तै लाग्दथ्यो। जताततै हरियाली, मौसम पनि न जाडो न गर्मी ठिक्कको। 

३० अगष्ट बिहान ९ बजे फ्रान्सको पेरिस इष्ट स्टेशनमा उत्रियौं। हाम्रो पूर्व निर्धारित कार्यक्रम अनुसार दिनभरि पेरिस सहर घुमेर बेलुकी इटालीको रोमका लागि हामीले पुनः अर्को ट्रेन समात्नु पर्ने थियो। तर थोरै भाषागत समस्या त्यहाँ देखापर्यो। त्यसैले केहिबेरको हैरानीपछि ट्याक्सीमार्फत टिकट सुनिश्चित गर्न गार्डेलिओन जानुपर्ने भयो। ट्याक्सी चढ्ने क्रममा ड्राइभर हब्सी परेकोले केहि डर पनि लाग्यो किनकी हामीलाई यस अघिनै जुरिक र वर्लिनमा चिनेकाले फ्रान्सका काला हब्सीहरु अलिक बदमास हुन्छन् भनेर सतर्क गराइसकेका थिए।

तर हामी चढेको हब्सी ट्याक्सी  ड्राइभर त्यस्तो लागेन बरु उसले मिठा मिठा गफगाफका साथ आरामसँग गार्डेलियोन ट्रेन स्टेशन पुर्याइदियो। इटालीको लागि टिकट सोध्दा सोही दिनको २.४० बजे भन्दापछिको  ट्रेन रहेनछ। त्यसकारण अपूरो फ्रान्स घुम्नुभन्दा बरु इटाली नजाने निर्णय गरि हामीले इटालीको कार्यक्रम रद्ध गरेर बरु अगष्ट ३० र ३१ बेलुकीसम्म पेरिस घुम्ने निधो गर्यौं। ट्रेन स्टेशनबाट नजिकै रहेको वास्टाइलमा पुगेर होटल वास्टाइलमै कोठा बुकिङ पनि गर्यौं।

 होटल बुकिङपछि हामी ढुक्क भएर भोलि बेलुकी ६.३० बजेसम्म पेरिस घुम्ने बाटो खुलेको थियो। त्यसैले होटल काउन्टरबाट सहरको नक्सा बोकी सर्वप्रथम हामी पैदल आइफल टावरतर्फ हानियौं। होटल रिसेप्सनमा रहेकी फ्रान्सेली रिसेप्सनिस्ट महिलाको सल्लाहअनुसार एक घन्टाको पैदल यात्रा पछि ‘स्नी’ नदीको किनारै किनार पुगिने जानकारी पाए तापनि करिब साँढे दुई घन्टाको यात्रापछि मात्र आइफेल टावर देखियो।

घुम्दै जाने क्रममा नदीमा रहेको एउटा पुल जहाँ हजारौ हजार साँचोहरु झुण्ड्याइरहेको पाइयो र कौतुहल लागेर सोध्दा फ्रान्सेली युवा युवतीहरुले आफ्नो माया कसैले छुटाउन नसकोस् भनेर सो पुलमा आइ संयुक्त रुपमा साँचोहरु झुण्डयाउँदा रहेछन् भन्ने थाहा भयो।

घुम्ने क्रममा हामी नेपालको थापाथली पुलस्थित वाग्मतीको किनारै किनार कालमोचन हुँदै टेकु दोभानतर्फ गए जस्तो आभाष हुन्थ्यो। उक्त स्नी नदी किनारका दाँयाबाँया यहाँको कालमोचनका पुरानो दरवार, पाटी, सत्तल जस्तै लाग्दथ्यो। के गर्नु यहाँका सबै थोत्रा पुराना भवनहरु तर त्यहाँ त उचित मर्मत सम्भारले वर्षौ पुराना भएर पनि नयाँ जस्ता देखिने विभिन्न कलात्मक दरवारहरु हेर्दै तस्वीर लिदै आइफल टावर पुगियो। करिब करिब साँझ पर्नै लागेका थियो। टावर चढ्ने लिफ्ट बन्द भैसकेकोले पाँच युरोको टिकट काटी माथि उक्लियौं।

तीनसय फिट अग्लो प्राचिन युगमा निर्मित भएर आजसम्म पनि अद्भूत लाग्ने आइफेल टावरको करिब सय फिटमाथि एक सुविधा सम्पन्न रेष्टुरेन्ट रहे । त्यहाँ बसेर केहि छिन थकाइ मारियो प्रसिद्ध फ्रेन्च वाइनको चुस्की लिएर। चारैतर्फबाट सम्पूर्ण पेरिस सहरलाई हेर्न पाइयो तर मलाई भने अझै माथि उक्लन मन लागेकोले साथी विनोदलाई माथी जान कर गरे तर ज्यादै थाकेकाले विनोदले माथी चढ्न नसक्ने बताएपछि पुनः सय फिटमाथी उक्लिएर आइफेल टावर करिब २०० फिट माथिबाट चिसो सिरेटो खाँदै बेलुकीको झिलिमिली पेरिसलाई नअघाउने गरि नियाली रहेँ।

वास्तवमा साँझको झिलिमिलिमा आइफेल टावर र पेरिस शहर साह्रै मनमोहक देखिने रहेछ। जतिखेर मेरो मष्तिस्कमा स्कुल पढ्दा नौ–दशमा साहित्यकार डा. ताना शर्माको निवन्ध पेरिस मुस्कुराउँछ रङ्गै रङ्गमा पढेको याद आइरह्याे। बेलुकी भैसकेको थियो सडकमा आइपुग्दा। त्यसैले यहाँको सफा ट्याम्पु जस्तैबाट चिसो हावा खादै होटल फर्किएर आराम गरियो।

३१ अगष्ट बिहानै उठेर हामी वास्टाइलबाट पूर्व उत्तरतर्फको पेरिस सहर घुम्न लाग्यौं। फराकिला सफा सडक जताततै हरियाली धुँवाधुलो भनेको कहि कतै नदेखिएको युरोपको हाम्रो यात्रा क्रममा वास्टाइल नजिकै एक सानो चिल्ड्रेन पार्क भेटियो, जहा केही मानिस धुलोमा आफ्ना स–साना नानीहरुलाई खेलाइरहेका थिए। 

हामीलाई अचम्म पनि लाग्यो। त्यस्तो सफै सफा शहरमा धुलो र मैलो पनि?  एक अभिभावकलाई सोध्दा केटाकेटीहरुलाई धुलोमा खेल्न मनपर्ने भएकोले यो धुले पार्क बनाइएको रहेछ। त्यसैले कहिले काहिँ आफ्नो बिदामा बच्चाहरुको खुसी र रमाइलोको लागि उनीहरुले खेलाउन त्यहाँ ल्याउँदा रहेछन्।

बिहानैदेखिको हाम्रो घुमाई पेरिसका केहि डिपार्टमेन्टल स्टोर र रेष्टुरेन्ट हुँदै प्रसिद्ध फ्रेन्च पर्फयुमको किनमेल सँगै फ्रेञ्च खाना खाएर बित्यो। बरु फ्रान्समा केहि इण्डियन रेष्टुरेन्टहरु पनि भेटिएकोले हामीलाई खानाको त्यति समस्या परेन। बेलुकी ६.३० बजे बुलेट  ट्रेनबाट हामी जुरिक आइपुग्यौं र जुन रेलको यात्रा कुनै सुविधा सम्पन्न वोइङ्गको भन्दा कम्ती थिएन। त्यसैले चार घन्टाको यात्रामा करिब ३०० किमी प्रतिघन्टाको गतिमा कुदेको रेलको यात्रा पनि सम्झनलायक भयो। बेलुकी १०.३० बजे जुरिक सिटीमा रहेको होटल इटापमा हाम्रो बसाईं रह्याे।

एघार दिनको हाम्रो युरोप यात्रा करिब करिब अन्त्यमा थियो। त्यसैले १ सेप्टेम्वरको बिहानै हामी जुरिकबाट एउटा अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य इन्टलेकन जाने तयारी गर्दैथियाैं तर अत्याधिक वर्षाको कारण बढेको चिसोले हामीलाई तगारो लगाइदियो।  

त्यसैले दिनभर जुरिक सिटीमै घुमेर हाम्रो दिन बित्यो। दश दिन भैसकेकोले घर परिवारको यादले पनि आत्तिइसकेका थियाैं, कत्तिखेर भोलि होला र स्वदेश फर्कन पाइएला भनेर। आखिर भोलि भइहाल्यो। यसो त्यसो पोका पुन्तुरा मिलाउँदै बिहानको ब्रेकफास्ट लिँदा १० बजिहाल्यो।

कत्तिखेर एयरपोर्ट पुगौ भन्ने हतारले ट्याक्सी अथवा ट्रेन खोजी गर्दै थियाैं तर संयोगले सँगैको होटलबाट एयरपोर्टमा गेष्ट लिन जानुपर्ने रहेछ सोही बसले पैसा दिन खोज्दा पनि नलिई निःशुल्क हामीलाई एयरपोर्ट छोडिदियो। 

एकै छिनमा एयरपोर्ट पनि पुगियो अर्थात दिउसो एक बजे। करिब साँढे तीन घन्टाको एयरपोर्ट कुराईपछि प्लेन चढियो। डेड घन्टापछि वर्लिनको टेगल एयरपोर्ट आईपुग्यौं, जहा हाम्रो चार घन्टा लामो ट्रान्जिट थियो। तीन घन्टा बिताउन साह्रै गाह्रो भयो, बाँकी एक घन्टाको चेक–इनपछि त्यहाँबाट बेलुकी नौ बजे हिँडेको भोलीपल्ट अर्थात ३ सेप्टेम्वर बिहान ६ बजेतिर अबुधावी आइपुगियो। 
अबुधावीमा फेरि चार घन्टाको ट्रान्जिट थियो। अबुधाबी आइपुगेपछि भने हामीलाई आफ्नै देशको एयरपोर्टमा छौ जस्तो लागिरह्याे। किनभने रोजगारीका लागि खाडी मुलुक गएका वहुसंख्यक नेपालीको भिड त्यहाँ देख्न पाइयो। अझ एयरपोर्ट सुरक्षाको जिम्मेवारी समेत नेपालीहरुबाटै भएको देख्न पाइयो। करिब चार घन्टाको पुनः अबुधाबी ट्रान्जिटपछि बिहान १० बजे काठमाडौका लागि उडनु पर्नेमा दुई घन्टा ढिलो उडान भएकोले पाँच घन्टापछि एघार दिन लामो युरोप यात्रा टुङ्गयाएर स्वदेश फर्कियौं।
जीवन एउटा यात्रा हो र यो अविरल चलिरहन्छ जहिलेसम्म जीवन रहिरहन्छ। त्यसैले मेरा लागि पनि युरोप यात्रा अत्यन्त अविस्मरणीय रह्याे र यो यात्राको अनुभव आफूमा मात्र सिमित नराखी सबैमा सार्वजनिक गर्ने इच्छा जाग्यो। हुनत मैले मात्र युरोप यात्रा गरेको हैन। धेरै नेपालीले गरिसकेका छन् र भोलिका दिनमा गर्लान पनि। तर मैले यहाँ आफूले देखेको, जानेको र सुनेको युरोप बारे केही राख्ने प्रयास गरेको हुँ। 

स्वीट्जरल्याण्ड भौगोलिक हिसाबले नेपाल जस्तै हरियालीले भरिपूर्ण अत्यन्त सुन्दर मुलुक जहाँका वासिन्दाहरु अत्यन्त सभ्य र सह्याेगी, नेपाल र नेपालीलाई अत्यन्त माया गर्ने रहेछन्। मुख्य व्यवसाय पर्यटन, फराकिला सफा सडक, सुन्दर पहाड, हरिया डाडाँकाडाँ तर फोहरमैला, धुँवाधुँलो, अशान्ति कोलाहल अनुभव नै गर्नु नपर्ने। जर्मनीको वर्लिन पनि अत्यन्त सुन्दर हराभरा।

सम्पूर्ण शिक्षा निःशुल्क, स्वदेशी– विदेशी सबैलाई सम्मान। त्यसैगरि सहरमा बग्ने स्प्री नदीको स्वच्छता पत्याउनै गाह्रो। त्यति ठूलो र विशाल नदी कसरी मानव निर्मित भयो होला? त्यसैगरि पेरिस विश्वका महंगो मध्येको एउटा शहर, आइफेल टावर एक्काईसौ शताब्दीका लागि पनि एउटा प्राविधिक चुनौति। कति सफा र स्वच्छ स्नी नदी के हाम्रा वाग्मती, विष्णुमतीले सँधै दुर्गन्धै दुर्गन्ध बोकिरहनु पर्ने?  खै हाम्रो राजधानीलगायत देशका विभिन्न भागले कहिले रेल यातायातको महत्वपूर्ण अवसर पाउँलान्? कति राजनीतिको फोहरी खेल मात्र खेलिरहने अब त आर्थिक क्रान्तिमार्फत देशलाई अगाडी बढाउन पनि लाग्ने की?

अझै पनि स्वार्थरहित हिसाबले देशको राजनीतिक नेतृत्वमा एकीकृत विकासको दीर्घकालिन सोचको विकास हुन सकेको छैन। सडक भत्काएर समयमा नबनाउनाले हिलो धुलोको कारण जतासुकै दुर्गन्ध फैलिरहेछ। विकासका साझेदार र सरोकारवाला निकायहरु बीच समन्वय र तालमेल छैन। दिन प्रतिदिन वातावरण प्रदुषित हुँदै गैरहेको कारण अस्पतालमा रोगीको संख्या बढिरहेछ। मैले वर्लिनमा डा. सरोज चुडालसँग एउटा जिज्ञासा राखेको थिएँ, ‘ जर्मनीमा चिकित्सकको पेशा कत्तिको आकर्षक छ? ’ 

उनको जवाफ थियो, ‘ त्यहाँ त मानिसहरु आफ्नो स्वास्थ्यप्रति अत्यन्त सचेत भएकोले मासिक र अर्धमासिक रुपमा पारिवारिक चिकित्सकमार्फत सम्पूर्ण स्वास्थ्य परीक्षण गर्ने भएकोले नेपालमा जस्तो अस्पताल, नर्सिङ होममा बिरामीको भिडभाड हुदैन।’ अहिलेको कोभिड महामारीको समयमा पनि जर्मनीले अपनाएको स्वास्थ्य सतर्कता सबैका लागि अनुशरणीय नै छभन्दा अत्युक्ति नहोला। अनि अर्को मलाई मन परेको कुरा पेरिसको शहरी सु–व्यवस्था, जुन आजभन्दा दुई वर्ष पुराना सडक दाँयाबाँयाका घरहरु फराकिलो सडक। हिजोआज मात्र हैन, यो सडक अझै सयौं वर्षपछि सम्म सान्दर्भिक भैरहने देखिन्छ। 

हाम्रोमा त पुराना बनिसकेका शहरमा या प्रस्तावित नगरहरुमा व्यवस्थित शहरी विकासको अवधारणा नै लागु हुनसकेको छैन। शहरको ढल व्यवस्था साह्रै अव्यवस्थित छ। जब सानो वर्षा के हुन्छ? मुख्य सडकमा समेत पानी जमेर हिँडि साध्य हुदैन। तर युरोपका सडकमा जति सुकै ठूलो पानी परे पनि जम्ने अवस्था देखिएन। बेलैमा पढे लेखेर, देखे जानेका राजनेता तथा नीति निर्माण तहमा बसेका कर्मचारीतन्त्रबाट पनि अझै केहि बनाउँ भन्ने सोच नआए अब त धेरै ढिलो भैसक्यो। खै सबैको बहुप्रतिक्षित नयाँ नेपाल कहिले बन्ला?
 

प्रकाशित मिति: : 2020-12-09 08:54:00

प्रतिकृया दिनुहोस्