नौ कक्षा पुगेपछि चप्पल लगाउन पाएँ

खिइँदै गएको नट–बोल्टजस्तो जिन्दगीले पार गरिसक्यो– ६२ औं वसन्त। मनका अन्तरकुन्तरमा जम्मा भइरहेका छन्, आमाले दिएका अर्ती उपदेशदेखि पुराना दिनका अन्य यादका घडाहरु। दिमागमा सल्बलाउन छोड्दैनन् मौनतामा बसेर बाको मुहार कल्पिन खोज्ने कल्पनाका रेशाहरु।

सेवानिवृत्त जिन्दगीका पाइला चलिरहेकै हुन्छन् राधाकृष्ण मावि तिजालीको गेटछेउका पसलतिर। बिर्सिएर सरासर जान्छन्– कहिल्यै विद्यालयको गेटभित्र। १० बज्न लाग्दा हतारिँदै लगाउन खोज्छन्– कहिल्यै ड्रेस। क्षणभरमै याद आइदिन्छ र झस्किदै मनमनै भन्छन्– ‘ए मत रिटायर्ड मास्टर पो त।’

रिटायर्ड भएर पनि अझै पढाउन पाए हुन्थ्यो भन्ने कुरा मनमा खेलाइरहने ती शिक्षकको नाम हो– भीमबहादुर अधिकारी। एक समयमा उनले तिजालीका अधिकारी मास्टरको नामले चर्चा बटुलेका थिए। जतिबेला स्रोतकेन्द्रस्तरीय र जिल्लास्तरीय साँस्कृतिक कार्यक्रममा प्रायःजसो उनकै विद्यार्थी प्रथम भइरहन्थे।

शिक्षक अधिकारीले सुनाए, ‘करिब दुई सय वर्षअघि गोरखा जिल्लाबाट डोटीतिर आएका थिए– रतनसिं अधिकारी। तिजालीका ठकुरीहरुले सँगै मिलेर बस्न आग्रह गरे र केही जमिन पनि दिए। यहाँ बस्दै गर्दा उनका चारजना छोरा जन्मे। गोरखा फर्किने सोच बनाउँदा बनाउँदै रतनसिंले धर्ती छोडे। उनका छोराहरु पछि जग्गाजमीन जोडेर स्थायी रुपले बस्न थाले। तिनकै सन्तति हौँ हामी।’ 

भीमबहादुरले लामो समयसम्म थाहा पाउन सकेनन्– बुवाको असली नाम। सुदूरपश्चिममा अगाडिका बच्चा बित्न थालेपछि वा बलियो ग्रहको भएर आपूmपछाडिका भाइबैनीलाई अप्ठेरो पार्ने खालको देखिँदा ग्रहदोष मेट्न केही रकमसहित बच्चा जोगी–जोगिनीलाई सुम्पिन्छन् अर्थात् बेच्छन्। फेरि एकछिनपछि पुनः तिनै जोगी जोगिनीलाई पैसा दिएर फिर्ता लिन्छन्।

यसरी बेचिएकाहरुको नयाँ नाम पुकारिन्छ– केटीलाई जोगेनी वा माता र केटालाई जोगी। भीमबहादुरका बुवालाई पनि सानोमा जोगीसँग बेचेको हुँदा उनलाई जोगीसिं भन्ने गर्थे। उनलाई मन परेन त्यो नाम र नौ कक्षामा पढ्दाताका विद्यालय प्रशासनमा अनुरोध गरी लेख्न लगाए जयबहादुर। बुवाको श्राद्ध गर्ने क्रममा संयोगले आइपुगेकी फुपूले (जो जोगे बनेकी थिइन्)। जोगीसिं भनेको सुनिन् र बाहुनलाई भनिन् आफ्ना भाइको असली नाम भोजबहादुर भएको कुरा।

दुई वर्ष नपुग्दै पिता गुमाएका अधिकारीलाई आमा धनादेवीले दुख कष्ट गरेर पालिन्। ती दिन सम्झिँदै उनले सुनाउँछन्, ‘पाँच वर्षको हुँदा कुन्नि कसले विद्यालयमा नाम लेखाइ दिएछन्। खेत जति बन्धकी राखिएका थिए। पाखो मात्रै थियो कमाइ खानलाई। पेटभर खान र जीउमा लगाउने लुगा थिएन। आमालाई सल्लाह दिने राम्रा मान्छे थिए। त्यो चेला पढाउन्छे र तैको चेलो कुर्सीमी बसन्छ भन्नेहरु पनि थिए समाजमा। हैन त्यो प्रतिभाशाली बच्चा छ, पढ्न पाए केइ गन्र्या हो भन्नेहरु पनि थिए त्यही समाजमा। नौ कक्षामा सीताराम मावि उच्चाकोट पढ्न जाँदा बल्ल खुट्टामा चप्पल लगाउन पाएँ।’

२०२२ सालमा भोकमरी भयो। तिनै सन्यासिनी बनेकी फुपूले मेरो चिन्ता गरिन्, ‘भदा के खाला !?’ आफ्नो कुटीमा लगिन्। जहाँ कीर्तन भजन र अनुशासनका कुरा सिके। छ महिना उनी कुटीमै बसे। सन्यासिनीहरु घरमा आउँथे। भिक्षा मागेको चामलबाट दुई–चार मुठी उनकी आमालाई छाडेर जान्थे।

स्व. जगन्नाथ ओझा र स्व. करनसिं ऐरलाई प्रेरणाका श्रोत ठान्छन् उनी। २०२६ सालमा डोटी तिजालीमा निमाविको पढाइ सुरु भयो। ४ कक्षा पास भएका भीमबहादुरले कक्षा ५ मा पढ्न पाएनन्। उनी लगायत केही जान्ने विद्यार्थीलाई कक्षा ६ मा राखियो।

६ कक्षामा मासिक शुल्क तिर्नुपर्ने हुन्थ्यो। उनले तिर्न नसक्ने भएपछि लुल्लेक गाउँका राइभान साउँदले सबैको सामु उनलाई अँगालो हाल्दै भने, ‘यो बच्चालाई म पढाउँछु।’ 

त्यो कुरा उनको परिवार (जेठा कान्छापट्टिका) लाई मन परेनछ र हामी आफैँ पढाउँछौ भने। सबैले अलिअलि गरेर पढाइ खर्च जुटाउन थाले।

आठ कक्षा पास भएपछि पढ्न जानुपर्ने भयो– सीताराम मावि उच्चाकोट। जहाँ पुग्न तीन घण्टा हिँड्नुपर्ने हुन्थ्यो। पढ्ने इच्छा थियो तर मासिक शुल्क तिरिदिने कोही थिएन। त्यसपछि समाजसेवी जगन्नाथ ओझाले उच्चाकोट पुगी व्यवस्थापन समितिमा कुरा राखे–‘मेरो एउटा बच्चा पढाइमा राम्रै छ तर आर्थिक स्थिति निकै कमजोर छ। मासिक शुल्क मिनाहा गरिदिनुपर्ने भयो।’

समाजसेवी ओझाको प्रस्ताव कसैले इन्कार गर्न सकेनन्। अनि दार्चुलाका रामदत्त भट्ट, जो त्यहाँ शिक्षक थिए, उनैले सञ्चालन गरेको कोषबाट भीमबहादुरको मासिक शुल्क तिरिने व्यवस्था भयो।

उता बानेडुङ्ग्रीसैनबाट जोगी मुखियाले पनि लुगा–कपडा दिएर बेलाबखत सहयोग गरिरहे। अधिकारी गीत गाउने नाच्ने, रमाइलो गर्ने हुँदा सबैले माया गर्थे। कहिलेकाहीँ हुनेखानेका छोराहरुका भाँडा पनि माझिदिन्थे।

पछि उनी गिल्ला गाउँका मुखियाको घरमा बसे। त्यतैबाट हिँडेर विद्यालय जान थाले। त्यति बेलै तिनै मुखिया जगन्नाथ भट्टसँग उनले सिके– धमारी, चैतजस्ता गीतहरु। १० कक्षामा पढ्दा नै मञ्चमा गएर भाषण गर्ने, केटीको पहिरनमा नाच्ने, गाउने गर्न थाले।

नटिसूत्रधारमा अभिनय गरेपछि नाटकमा पनि प्रचारमा आउन थाले। त्यतिबेला गाउँमा नाटक देखाउने चलन चलेको थियो। विद्यालयको वार्षिकोत्सवका दिन ‘पेट्रोमेक्स’ जलाएर रातभर नाटक देखाइन्थ्यो। उनी सात कक्षामा पढ्नेताका शिक्षक तेजनाथ पन्तले नाटकको एउटा दृश्यमा उनलाई काखमा राखी अँग्रेजी शब्द सोधेका थिए।

त्यति बेलादेखि नै नाटकप्रति आकर्षित अधिकारीले पछिल्ला दिनमा मुनामदन, शाकुन्तल, राजा हरिशचन्द, बसाइँलगायतका थुप्रै नाटकमा भूमिका निभाए। कतिपय नाटकको रचना पनि गरे। तर, साथमा राखेनन्। अहिले पछुताइरहन्छन्। 

२०३३ सालमा एसएलसी परीक्षा दिएर जागिर खोज्न थाले उनी। डोटी तिखा गाउँमा रहेको विद्यालयका प्रअ प्रेमबहादुर कठायतले अधिकारीलाई सट्टा शिक्षकका रुपमा राखेर आपूm दशमहिने पूर्वव्यावसायिक तालिममा गए। १३५ रुपैयाँ मासिक तलब पाइने भयो। १० महिनापछि शिक्षा शाखामा मासिक रु. १७८ मा मुखिया पदमा काम पाए। एक वर्षपछि त्यो पनि छुट्यो। एसएलसीमा उनुत्तीर्ण भैसकेका थिए।

त्यति बेला एक विषयमा फेल हुनेबित्तिकै सबै विषयको परीक्षा दिनुपर्ने हुन्थ्यो। बीचमा एसएलसी परीक्षा नै दिन छोडिदिए। त्यति बेलाको त्यो परिवेश सम्झेर उनले सुनाए, ‘जिशिअले सोधे– जागिर गयो अब के गर्छस् ? मैले विनम्रतापूर्वक भनेँ– ‘के गरूँ, कतै लगाइदिनुप¥यो सर ! त्यसपछि मासिक १८५ तलब पाउने गरी पठायो– हरिहर प्रावि पचनालीमा। जहाँ  छ महिनापछि एकमुष्ट तलब पाइयो र बेचिएको खेत निखन्न पाएँ।’

एक वर्षपछि एसएलसी पास भएकाहरु दरबन्दी मिलाएर ठाउँ–ठाउँमा पुग्न थाले। त्यसै क्रममा अधिकारीको जागिर सकियो। त्यसपछि उनी पुनः एसएलसी परीक्षा दिन कस्सिए।

एसएलसी परीक्षा दिएर सुरु गरे– पञ्चोदय प्रावि, धुर्कोटमा निःशुल्क शिक्षण गर्न। जहाँ नियुक्तिमा लेखिएको थियो– ‘दरबन्दी आएमा स्वतः तपाईलाई नै राख्ने गरी ....’ भनेर। २०३७ सालमा उनी एसएलसी पास हुनु र उक्त विद्यालयमा दरबन्दी आउनु सँगसँगै भयो। तर, नजिकका गाउँका अरु पनि एसएलसी पास भएका हुँदा पेलापेल हुन थाल्यो।

त्यतिबेलै नजिकैको चुडी गाउँमा विद्यालय खुल्यो। उनलाई त्यहाँ बोलाइयो। चार दिन के पढाएका थिए बाटोमा भेटिएका खड्कबहादुर जोराले भने, ‘यो भर्खर खुलेको विद्यालयमा के अल्झेको। तैँले त एसएलसी पास दरबन्दी पाउँछस्, यो त कहिले हो कहिले ?’ 

त्यसपछि त्यहाँ पनि छोडे। केही दिनपछि सचिव पदमा जागिर खुल्यो। नाम निकाल्न सफल पनि भए। नेपालगञ्ज तालिममा जान तयारी गरिरहँदा आइपुगेका जगन्नाथ ओझा र करनसिं ऐरले उनको नियुत्ति–पत्र च्यात्दै  भने, ‘यहाँ निमाविको दरबन्दी खाली भयो। घरछेउको जागिर। घरमा एक्ली आमा छन्। यतै काम गर।’ 

जगन्नाथ ओझा र करनसिंह ऐरले जे भन्यो त्यो सजिलै स्विकार्ने उनले भने– ‘हुन्छ’। अनि सुरु भयो– बिहानै उठेर हलो जोत्ने अनि दिउँसो पढाउने दैनिकी। त्यति बेला ७५ प्रतिशत तलब सरकारले दिन्थ्यो। २५ प्रतिशत सञ्चालक समितिले व्यहोर्नुपर्ने हुन्थ्यो। उनले सुनाए, ‘त्यो २५ प्रतिशत रकम जम्मा गर्न होली खेल्ने, नाटक लगाउने, भैलो खेल्ने, खलो माग्नेजस्ता कार्य गर्नुपथ्र्यो। टाढाका शिक्षकलाई अलिकति दिइन्थ्यो। नजिकका हामीलाई पुग्दैनथ्यो। घाटा खानुपथ्र्यो। कार्तिकमा धान र बैशाखमा गहुँ माग्न करनसिं र म हातमा बोरा बोकेर स्थानीयको खेतमै पुग्थ्यौँ। कतिपयले करनसिंलाई ‘दमाईं’ र मलाई ‘भाँड’ भन्न थाले। खेतमा विद्यालयको लागि धान गहुँ माग्न जाँदा ढोली भाँड आए पनि भन्थे। पछि प्राविलाई पूर्ण सरकारी बनाएपछि मलाई निमाविबाट प्राविमा सारियो।’

उनको जीवनमा घटेका थुप्रै अविष्मरणीय घटनाहरु छन्– श्वामी हरि मल्लसँग हुने भेटघाट, हरिमल्लले नजाऊ भन्दाभन्दै जाँदा डुङ्गा नभेटिएर सेतीमा पौडी खेल्दा झण्डै बगेको, ‘कुटीबाट आएको बगिग्यो’ भन्ने सुरिलो आवाज सुनेकोदेखि पौडी खेल्दा पाइण्ट बगेपछि गोपी साउँदका छोराको पाइण्ट लगाई दिपायल पुगेर नयाँ पाइन्ट किनेको। तर, प्रणय सूत्रमा बाँधिनुअघिको घटना सम्झिँदा उनलाई अहिले पनि हाँसो उठ्छ।

कुमालीकोट उनकी काकीको माइती गाउँ थियो। त्यही गाउँमा भएको थियो– उनको पनि मग्नी। काकीलाई माइतीमा पु¥याएर फर्किने बेला हुनेवाला ससुरालीको आँगनमा पुगेर पानी मागेँछन्। पानी दिन आएकी आमासँगै बाहिर आइछन्– भागरथी पनि। आमाले सोधिछन्–‘काँका हौ ?’ 

‘तिजालीको’, भन्ने उत्तर सुन्नासाथ भित्र हिँडिहालिछन् भागरथी। एक झल्को हेर्न पाएछन् उनले। ‘मैले नि तिजाली चेली दिन्छु भणिबर बोलिहालेँ। केटाको नाउँ भीम हो रे ! के कसो ब छ ?’– जिज्ञाशा व्यक्त गरिछन् आमा चाहिँले। 

नाटकमा अभिनय गर्न खप्पिस उनले भनेछन्, ‘रामडो अ¥या हजुर। एकलोइ चेलो हो। बुवा नइआथिन्। आमा मात्तर छन्। जग्गाजमिन भयाको निक्कोइ छ। फटफटानो आँखा हालेलइ नबिझाउने। मै जतनो, मै जसो, मेरै अनुहारको छ। मै सम्झे नि हुन्छ।’ 

केही समयपछि केटीकी आमाको भेट भएछ– उनकी काकीसँग। अनि भनिछन्, ‘तेरा गाउँको केटासँग सोध्याको रामडो मैजसो छ भन्नाथ्यो।’ अनि उनकी काकीले हाँस्दै भनिछन्, ‘केटो उइ हो।’ 

हाँसीमजाग गरिरहने मृदुभाषी अधिकारीको २०३३ सालमा १४ वर्षकी तिनै भागरथीसँग  बिहे भयो।२०३८ सालमा सेती परियोजना लागू भएपछि उनी साँझ ऐरी गाउँमा बसेर प्रौढ कक्षा पढाउन थाले। त्यति बेलै ऐरीगाउँ र धामीगाउँका करनसिं ऐर, हर्कबहादुर ऐर, ठक्करबहादुर ऐर, काशी बोहरा, गोरख बोहरा, वीर बोहरा, डम्बर बोहरा, हर्कबहादुर बोहरालगायतका सामाजिक मान्छेलाई जुटाएर विद्यालय खोल्न सुझाव दिए।

विद्यालयको नामाकरण पनि उनैले गरेँ। त्यसपछि ती समाजसेवीहरुको पहलमा खुल्न गयो सरस्वती प्रावि। जिल्लाभरिमा उत्कृष्ट प्रौढ कक्षा सञ्चालन गर्नेमध्ये उनी तेश्रो स्थानमा परे र ३०० रुपैयाँ नगदसहित प्रमाणपत्र पाए। पछि २०५८ सालमा शिक्षा पुरस्कार समेत पाए।

जिन्दगीका संघर्षमय दिन बिताएकी आमाले २०६४ सालमा बिदा लिइन्– धर्तीबाट। बिदा हुने बेलामा पनि भनेर गइन आमा– ‘सहनेका समुद्र जरा भन्छन्। सहेर बस्नू। फुचेरो (नराम्रो) कसैसँग नबोल्नू।’ 

तिजालीका गरिब र जेहेन्दार विद्यार्थीलाई दिने गरी आमाका नाममा ८५ हजारको धनादेवी अक्षयकोष स्थापना गरेका छन् उनले। यो वर्ष १५ हजार थपेर अक्षयकोषको राशी एक लाख पु¥याउने उनको लक्ष्य छ। 

निकै रसिक छन्– उनी, जोसँग कला र गला दुवै छ। जो चाडपर्वमा चैत, धमारी, डेउडाजस्ता खेल खेल्न टाढाका गाउँसम्म पनि पुगिरहेकै हुन्छन्। उनी सुनाउँछन्, ‘उतिबेला ज्ञानवद्र्धक, समाजलाई प्रेरणा दिने संस्कृतिक कार्यक्रम हुन्थे। अहिले पाश्चात्य मुलुकको नक्कल बढी छ। अहिले जति सुख सुविधा पाए पनि त्यो बेलाको जस्तो सुख, आनन्द कहिल्यै पाउन सक्दिनँ। सबैको जिज्ञाशा हुन्थ्यो, ‘प्रथम को भयो ?’

राधाकृष्ण निमावि तिजाली भन्ने सुन्दा नाम जोडिएर आउँथ्यो– मेरो पनि। पुरस्कारका लागि तिजालीको नाम बोलाउँदा चौतर्फी हुटिङ हुन्थ्यो। मेरा विद्यार्थीका मुहारको खुशी हेर्थे अनि आँखाभरि आँशु छल्काएर सोच्थेँ– योभन्दा बढी सम्मान योभन्दा बढी खुशी कहाँ पाउँला। त्यस्ता रमाइला दिन अब कहाँ पाउनु !’

प्रकाशित मिति: : 2021-06-03 15:20:00

प्रतिकृया दिनुहोस्

    सर संग बितायका हरेक पल सम्झियर खुसी लाग्यो । उहाँको जिबनी छर्लङ्ग देखाई दिनु भयकोमा धन्यवाद । 🙏

    • 2 बर्ष अगाडि
    • Ashok Dwariya

    ekdam ramro man chune lekh. thanks for this.

    • 3 बर्ष अगाडि
    • aruna