कांग्रेसको 'कालो' कहर: निर्वाचनपूर्णको गठबन्धन असफल

नेपालमा निर्वाचनपूर्वको चुनावी गठबन्धनलाई नेपाली कांग्रेसका कार्यकर्ता र मतदाताले लगभग विफल बनाइदिएका छन्। यसबाट सत्तारूढ गठबन्धनले आशातित विजय हासिल गर्न नसक्दा एमाले तालमेल र नयाँ दलका उम्मेद्वार लाभान्वित भएका छन्।

कांग्रेस कार्यकर्ता र मतदाता पार्टीकै उम्मेद्वारका लागि पनि उत्सािहत भएको देखिएन। आफ्नो नाता वा गुटको उम्मेद्वार भए मात्र जाँगर लगाएर चुनावमा होमिएका अनगिन्ति उदाहरण छन्। जब आफ्नै दलका उम्मेद्वारका लागि त यस्तो स्थिति रह्यो भने गठबन्धनकै अन्य दलका उम्मेद्वारलाई मतदान गर्ने कुरै भएन, बरू उल्टै उनीहरूलाई हराउन विपक्षमा मतदान गरेका छन्। 

यो एक किसिमको कांग्रेसी प्रवृतिका कारण नेपाली कांग्रेसले समानुपातिकमा पनि मत पाएन। परिणाम सबैका सामु छ, प्रत्यक्षमा कांग्रेसले धेरै सिट जित्दा पनि समानुपातिकमा कांग्रेस एमालेभन्दा पछि पर्यो।  

कांग्रेस उम्मेद्वारहरू प्रत्यक्षमा जित्नु तर समानुपातिकमा पार्टी पछि पर्नुको सोझो कारण गठबन्धन्धनका अन्य दलका कार्यकर्ता तथा मतदाताले कांग्रेसलाई मत दिएर नै हो। यसरी हेर्दा अन्य पार्टी सहकार्यका लागि विश्वसनीय देखिए पनि कांग्रेस त्यस्तो विश्वासिदो सहकर्मी देखिएन।

यसबाट कांग्रेसको विश्वसनियता धरापमा परेको छ। आगामी दिनमा कांग्रेससँग अन्य कुनै दल पनि सहजै सहकार्य गर्न तयार हुने छैनन्। यसले कांग्रेसलाई सहकार्यको राष्ट्रिय राजनीतिबाट एक्ल्याउने निश्चित छ। 

कांग्रेस नेतृत्वले पनि यसबाट पाठ सिकेर आगामी दिनमा आफूलाई सच्याउनुपर्ने हुन्छ। उसले आफूलाई तीनकिसिमले सच्याउन सक्छ। पहिलो, पार्टीभित्रको गुटगत राजनीतिलाई सके निमिट्यान्ने पार्ने, नसके पनि न्युनीकरण गर्ने। दोस्रो, पार्टीभित्र टिकट वितरणमा सम्बन्धित क्षेत्रकै सबैभन्दा लोकप्रिय नेता, कार्यकर्तालाई उम्मेद्वार बनाउने। तेस्रो, वर्तमान निर्वाचन पद्धतिले नै गठबन्धनका लागि बाध्य बनाउँछ भन्ने शिक्षा कार्यकर्ता तथा मतदातालाई दिने। यसो गर्न सक्यो भने मात्र कांग्रेसले आफ्ना नेता, कार्यकर्ता तथा मतदातालाई गठबन्धन संस्कृतिका लागि तयार पार्न सक्छ।

गठबन्धन संस्कृतिलाई हर्काउन पार्टीको माथिल्लो तहमा त जे जसरी, जोसँग गर्दा पनि चल्ला तर जनताको तहमा भने कम्तीमा पनि विचार र एजेण्डा मिल्न जरूरी रहेछ भन्ने पनि निर्वाचनको पाठ हो। यसअघि २०७४ को निर्वाचनमा एमाले र माओवादी चुनावपूर्वको गठबन्धनले काम गर्नुको मूल कारण उनीहरू दुबै कम्युनिष्ट पार्टी भएको वैचारिक आधार थियो भन्न सकिने ठाउँ यो निर्वाचनले दिएको छ। यसले पनि निर्वाचनपूर्वको चुनावी गठबन्धन विचारकै आधारमा हुनुपर्ने रहेछ भन्ने प्रष्ट सन्देश पनि यसपटकको निर्वाचनले दिएको छ।

नेपालमा विचार नमिल्ने दलहरूबीच हुने निर्वाचनपूर्वको चुनावी गठबन्धनको प्रयोग सफल नहुने संकेत देखिएको छ।  सत्तारूढ गठबन्धनले आशातित चुनावी सफलता हासिल गर्न नसक्नु त्यसैको ऐना हो। कांग्रेस कार्यकर्ता र मतदातामा गढेको रूखबाहेक अरूलाई मत नदिने 'कालो कहर'कै कारण  यस्तो भएको हो। 

कांग्रेसी मतदातालाई गठबन्धनप्रति वितृषणा जगाउन कांग्रेसमा अल्पमतमा रहेका विभिन्न गुट र तिनका नेता पनि जिम्मेवार छन्। पार्टीले गठबन्धनमा जानुपर्छ भन्ने निर्णय गरिसक्दा पनि कतिपय नेताहरू त्यसको विपक्षमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने मत राखिरहेका थिए। आफ्ना गुटका नेता, कार्यकर्ता र मतदातालाई त्यही किसिमले भड्काइरहेका थिए। 

कांग्रेसको अर्को समस्या अन्तरघात पनि हो। २०४८ सालकै चुनावमा कृष्णप्रसाद भट्टराईलाई हराउन गिरिजाप्रसाद कोइरालाले सुरू गरेको अन्तरघातको श्रृंखला जारी छ। आफू वा आफ्नो मान्छेले उम्मेदवारी पाएन भने त्यसलाई हराउन लाग्ने कांग्रेसी अन्तरघातीहरूको दायित्वजस्तै नै भएको छ।यसो गर्नलाई उनीहरू  जित्ने सम्भावना भएका अन्य पार्टीका उम्मेद्वारलाई मतदान गर्न पुग्छन्। 

कांग्रेसको अर्को समस्या वागी उम्मेद्वारीको पनि हो। एक त कांग्रेसमा नहारूञ्जेल वा बाँचुञ्जेल आफू नै उम्मेद्वार भैरहने एक किसिमको खानदानी रोग नै छ। यो रोगका कारण उम्मेद्वारी नपाउने कांग्रेसहरूको संख्या हरेक वर्ष बढ्दैछ। पटक पटक पनि उम्मेद्वारी नपाएर आफ्नो राजनीति नै सकिने सम्भावना भएपछि या त उनीहरू अर्को पार्टीमा जाने वा वागी हुने सम्भावना रहन्छ। यही निर्वाचनमा पनि ठूलो संख्यामा कांग्रेसीहरूले वागी उम्मेद्वारी दिएका छन्। कांग्रेसकै उम्मेद्वार भएका ठाउँमा त वागी उम्मेद्वारी परेको छ  भने गठबन्धन दलका उम्मेद्वार भएको ठाउँमा त नपर्ने कुरै भएन।

कांग्रेस नेपालको संसदीय व्यवस्थाको पुरानो खेलाडी मात्र हैन, यो व्यवस्थामा नेपालमा स्थापना गर्ने र टिकाउने एक मात्र कारण पनि हो। त्यसैले यसका कतिपय विकृतिहरू अन्य पार्टीमा पनि सरेका छन्।संसदीय व्यवस्था नै नमान्ने कम्युनिष्ट पार्टीहरूलाई कांग्रेसले यो व्यवस्थाका लागि बाध्य पारेर वागी उम्मेद्वारी, अन्तरघातजस्ता विकृतिको दलदलमा फसाएकै छ।  

निश्चित पनि अब यही कांग्रेसी माइन्टसेटमा नेपालमा निर्वाचनपूर्वको चुनावी गठबन्धनमा नगए हुन्छ। अब कम्तीमा पनि विचार र एजेण्डा नमिल्नेहरू आगामी दिनमा यस्तो चुनावी गठबन्धनमा नजाने लगभग निश्चित छ। यसपटकको चुनावले विचार नमिल्ने दलहरूबीचको निर्वाचनपूर्वको चुनावी गठबन्धनलाई ठाडै अस्विकार गरेको छ। आगामी दिनमा यस्तो गल्ती नगर्नु नै यस चुनावबाट सिक्नुपर्ने सबैभन्दा ठूलो पाठ बन्नुपर्छ।

 

 

 

 

प्रकाशित मिति: : 2022-11-23 22:10:00

प्रतिकृया दिनुहोस्