प्रतिपक्षको हतोत्साहित मानसिकताले संसद बैठक भद्रगोल

विशेषतः संसद प्रतिपक्षको हो भनिन्छ। सत्तापक्षले कुनै गैरसंवैधानिक काम गरे त्यसको बलियो रूपमा प्रतिवाद गरेर जनताको आवाज बुलन्द गर्न प्रतिपक्षको भूमिका हुन्छ। तर, सोमबारकाे संसद बैठक यति भद्रगोल भयो कि प्रतिपक्षी हतोत्साहित मानसिकतामा प्रस्तुत भयाे।

आइतबार प्रतिपक्ष दल (एमाले, रास्वपा र राप्रपा)ले नागरिकता विधेयक र भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूमि साट्ने भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै संसद बैठक चल्न दिएनन्। दलहरूबीचको छलफलपछि सोमबार संसद बैठक चल्यो।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण, प्रतिपक्ष दलको मागका विषयमा सम्बोधन गर्ने तयारी थियो। बिहान ११ बजे संसद सुरू भएसँगै उठेर विरोध जनाएका प्रतिपक्ष दलले आफूलाई सम्हाल्न सकेनन्।

सुरूमै संसदमा प्रमुख प्रतिपक्ष दलका सांसद उठेर संसदमा अवरोध सिर्जना गरे। सभामुख देवराज घिमिरेले एमाले सांसद योगेश भट्टराईलाई बोल्न समय दिएपछि बैठक सुरूभयो। उनले भारत भ्रमणदेखि सीमा समस्या, नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएकोमा प्रश्न उठाए।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका विषयमा संसदलाई जानकारी गराए। संसदमा उठेको प्रश्नको जवाफ दिए। प्रधानमन्त्रीको जवाफपछि प्रतिपक्षको हतोत्साहित मानसिकता यति कमजोर रूपमा प्रस्तुत भयो कि, के भनिरहेको छु भन्नेसमेतको ख्याल गर्न छाडे।

प्रतिपक्ष दलका सांसदले प्रधानमन्त्रीको भारत भ्रमणलाई हल्लका रूपमा प्रस्तुत गरिरहे। केही भएको छैन। प्रधानमन्त्रीले भैँसी ल्याउनुबाहेक अरू काम नै गर्न सकेनन् जसरी सांसद प्रस्तुत भए।

प्रधानमन्त्री प्रचण्डले आफ्नो कुरा राखेपछि त्यसमाथि थप प्रश्न गर्न सभामुख देवराज घिमिरेले सांसदलाई समय दिए। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले संसदमा प्रयोग गर्न नमिल्ने शब्द प्रयोग गरे।

उनले भने, ‘हामी चाहन्थ्यौँ प्रधानमन्त्री प्लेन चढेर पोखरा विमानस्थल झर्नुहुन्छ होला भनेर, दुर्भाग्यवस उहाँ भैँसी चढेर आएको कुराहरू आए।’ खनालले भैसी चढेर आएको भन्ने कुरा संसदको अमर्यादीत शब्द हो।

उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई यति हल्लका रूपमा प्रस्तुत गरेकि भ्रमण पूर्ण रूपमा असफल भयो। भारतले उपहार दिएको त्यही भैँसी (यद्यपी भारतले राँगा दिएको भन्नेसमेत उनलाई सम्झना रहेछन्) चढेर प्रचण्ड नेपाल आए। एउटा सांसदले कुन स्तरमा झरेर प्रश्न गर्नुपर्ने हो ? कुनै मापदण्ड छैन। तर, उनी सकेसम्म प्रचण्डको भ्रमण पूर्ण रूपमा असफल भएको स्थापित गर्ने हतोत्साहित मानसिकताबाट प्रेरित भए।

भैँसी चढेर आएको भनेपछि सत्तापक्षका माओवादी केन्द्रका सांसद हितराज पाण्डेले भैंसी चढेर आएको कुरा असंसदीय शब्द भएको भन्दै हटाउन माग गरे। र, सभामुखले उक्त शब्द हटाउन संसद सचिवालयलाई रूलिङ गरे।

यसअघि माओवादी केन्द्रका सांसद पाण्डे, शिशिर खनाल बोलिरहेको समयमा बोलेको भन्दै प्रतिपक्षले अर्को उदण्डता मच्चायो। कुरा नबुझेर फेरि संसदमा उठेर विरोध जनायो। जसमा एमाले सांसद सूर्य थापाले संसदमा पाठ नै पढाए।

उनले भने, ‘संसदमा पालना गर्नु पर्ने नियममा कुनै सदस्य बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भंग गर्न नहुने उल्लेख छ। यहाँ माननीय सदस्य (शिशिर खनाल) बोलिरहेको समयमा सत्ता पक्षका सांसदले दादागिरी देखाए। यो नियमावलीको पालना गरियोस्।’

संसदको कुनै नियमविपरीत बोलिएको शब्द भएमा विरोध जनाउन पाइन्छ र सभामुखले उक्त शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुपर्ने हुन्छ। शिशिर खानालको प्रधामन्त्री भैँसी चढेर आएको शब्द हटाउन सभामुखले निर्देशन पनि दिए।

अर्को रोचक त के छ भने, संसदमा प्रतिपक्ष दलका सांसद थापाले संसदमा पालना गर्नुपर्ने नियम पढाएको केही समयमा नै प्रतिपक्ष दलबाटै संसदको उल्लंघन भयो। प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक पास कसरी भयो ? किन गरियो भयो भन्ने विषयमा जवाफ दिँदै थिए।

प्रचण्डले जवाफ दिइरहेको समयमा एमालेका सांसदले प्रचण्डलाई बिचमै रोकि संसद अवरोध गरे। उनलाई संविधान पठाउने कोसिस एमाले सांसद गरे। सकेसम्म नागरिकता विधेयक पास गर्नु नियमविरीत हो भन्ने मानसिकताबाट एमाले प्रेरित भयो र संसदको नियम नै उल्लंघन गर्‍यो।

यसअघि संविधानको उल्लंघन गर्दै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकलाई अलपत्र पारिदिएकी थिइन्। भण्डारीले विधेयक अलपत्र पार्नु सही भन्ने स्थापित गर्न एमाले लागि परेको कुरा आजको हतोत्साहित मानसिकताले पनि देखाउँथ्यो।

संविधानविद्हरूले भण्डारीले विधेयक पास नगर्नु र संसद छलेर हालका राष्ट्रपतिले पास गर्नु दुबै संविधानविपरीत भन्ने गरेका छन्। यस विषय सवोच्च अदालतमा पुगिसकेको छ।

प्रकाशित मिति: : 2023-06-05 21:50:00

प्रतिकृया दिनुहोस्