कसरी उदाए जंगबहादुर, कस्ताे थियाे ‘जंग व्यवस्थापन’?

Breaknlinks
Breaknlinks

बालनरसिंह कुँवरका छोराकाे रुपमा जंगबहादुरको जन्म वि.सं. १८७४ असार ७ गते अर्घाखाँचीको बलकोटमा भएको थियो। काजीका छोरा भएकाले उनको बाल्यकाल सुखसयलमा नै बित्यो। उनको परिवारकाे तत्कालीन प्रधानमन्त्री भीमसेन थापासँग नाता–साइनाे थियो।

‘नेपाल दरबार’मा भीमसेन थापाको पतन भएसँगै बालनरसिंहको जागिर खोसियो र परिवारको बिचल्ली भयो। सुरू–सुरूका ‘लफङ्गा, जुवाडे’ जंगबहादुर आफूभित्रको अदम्य साहस, वीरता र चातुर्यका कारण नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा छन्।

जंगबहादुर कुँवर नेपालका प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। नेपालमा राणा शासनको स्थापना गरी १०४ वर्षे पारिवारिक शासनशैलीको सुत्रपात उनीबाटै भयो। बेलायतीहरूका कट्टर भक्त जंगबहादुरले आफ्ना कट्टर विरोधीहरूलाई एकएक गरी मारेर एकतन्त्री शासन चलाए।

उनी बेलायत र फ्रान्सबाट फर्केपछि नेपाली कला, संस्कृति, जनजीवन र कानुनमा समेत पश्चिमी पभाव रहेपनि मौलिकतालाई बिर्सिएको देखिँदैन। जंगबहादुरका सन्तानहरूकाे हिसाब गर्दा उनका १३ छोरा र २० छोरी थिए।

भीम प्रताप जंगबहादुर राणा, जगत जंगबहादुर राणा, जीत जंगबहादुर राणा, पद्म जंगबहादुर राणा, बबर जंगबहादुर राणा, रणवीर जंगबहादुर राणालगायत। त्यस्तै जेठी छोरी बदन कुमारीको विवाह कर्णेल गजराजसिंह थापासँग भएको थियो। ३ छोरीहरूको विवाह युवराज त्रैलोक्य विक्रम शाहसँग भएको थियो। केहीको बझाङी राजा विक्रमबहादुर सिंह र युवराज धीरेन्द्र र नरेन्द्रसँग भएको थियो।

युवराजका अंगरक्षकः जंगबहादुर युवराज सुरेन्द्रका अंगरक्षक थिए। युवराज सुरेन्द्र सन्की स्वभावका थिए। त्यही भएर उनको अंगरक्षक रहँदा जंगबहादुरले साहसिक र खतरनाक आदेशहरू पालना गर्नुपर्थ्यो। उनले त्रिशुली नदीमा घोडासहित कुद्ने, धरहराबाट हाम फाल्ने, बाह्रवर्षे इनारमा हामफाल्ने जस्ता आदेश मान्नुपरेको थियो।

आफ्ना मामा माथवरसिंह थापालाई गोली हानी मारेको भन्ने अभियोग जंगबहादुरलाई नै थियो। ‘आफ्नै दाइ माथवर सिंहको हत्या गरेपछि जंगबहादुरकी आमा’ले उनीसँग नबोल्ने प्रतीज्ञा गरेकी थिइन्।

गगन सिंह हत्या र कोत पर्व: गगन सिंहको हत्या जंगबहादुरको उदय एकका लागि आयम मानिन्छ। गगन सिंह दरबारका एक प्रभावशाली पात्र थिए। रानी राज्यलक्ष्मीले उनलाई धेरै माया अनि विश्वास गर्थिन्।

दरबारमा रानी र गगन सिंहको राजा राजेन्द्र अनि युवराज सुरेन्द्रलाई मन परेको थिएन। सुरेन्द्र र जंगबहादुरबीच निकै राम्रो अनि गहिरो सम्बन्ध थियो। गगन सिंहको जंगबहादुरसँग राम्रो सम्बन्ध नरहेको देखिन्छ।

कोत पर्व वि.सं. १९०३ भदौ ३१ गते राति महारानी राज्यलक्ष्मी देवीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगन सिंहको रहस्यमय ढंगले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले वि.सं. १९०३ असोज २ गते शनिबार राति सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेशअनुसार कोतमा भेला भए।

गगन सिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा एकअर्कामा भनाभन हुँदा जंगबहादुर राणाका मानिस युद्धवीर अधिकारीद्वारा सर्वप्रथम अभिमानसिंह रानामगर मारिए। स्थिति चर्किँदै हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेरका प्रधानमन्त्री फत्तेजंग शाहसहित दलभञ्जन पाण्डेलगायतका ४० जनाको हत्या भयो।

कोतको परिसरमा रगतको खोलाे बग्यो। कोतभित्र तनावको वातावरण पैदा भएकै अवस्थामा राजा कोतबाट बाहिर निस्केका थिए। विभत्स र दुःखलाग्दो स्थितिको फाइदा उठाएर जंगबहादुर राणा प्रधानमन्त्री बने। यस पर्वसँगै जंगबहादुरले सत्ता आफ्नो हातमा लिए।

भण्डारखाल पर्व: भण्डारखाल पर्व, कोत पर्वपछि प्रधानमन्त्री र कमाण्डर इन चिफ बनाइएका जंगबहादुरलाई रानी लक्ष्मीदेवीले सुरेन्द्रको हत्या गर्न र आफ्नो छोरा रणेन्द्रलाई गद्दीको हकदार बनाउन दवाव दिइन्। तर जंगबहादुरले अब उप्रान्त रानीले यस कार्यमा थप दवाव दिएमा राम्रो नहुने चेतावनी दिए। उनको यस्तो कुराले रानी रिसले चुर भइन्। उनले भण्डारखालको बगैंचामा भोजको आयोजना गर्ने र सो भोजमा जंगबहादुर र उनका सबै भाइहरूको हत्या गर्ने योजना बनाइन्।

तर, सो कुराको पोल पण्डित विजयराजले जंगबहादुरलाई खोले र सो षड्यन्त्रमा सामेल वीरध्वज बस्नेतलगायतलाई हत्या तथा कैद गरियो। रानीको सम्पूर्ण अधिकार खोसी देश निकाला गरियो।

प्राइम मिनिस्टर, कमाण्डर इन चिफ र राणा उपाधी: वि.सं. १९०५ वैशाख १३ (५ मे १८४८) श्री ५ महाराजधिराज सुरेन्द्रबाट प्राइम मिनिस्टर एण्ड कमाण्डर इन चिफ जंगबहादुर कुँवरलाई र उनका सबै भाइ वंशजहरूलाई भारतको चितौरगढबाट राजपूत राणाका सन्तानहरू पहाड पसी कास्की पुगेका र निदानमा गोरखाबाट मुलूकको सेवा गरेको कुरा मान्यता गरी ‘राणाजी’ भन्न पाउने गराए।

त्यसपछि उनी जंगबहादुर राणाजी भएका थिए। श्री ३ महाराज लालमोहर श्री ५ सुरेन्द्रबाट वि.सं. १९१३ श्रावण २२ गतेका दिन (कतै वि.सं. १९१३ साउन २४ गते उल्लेख गरिएको छ) सार्वजनिक रूपमा उनलाई कास्की र लम्जुङकाे महाराज घोषित गरियो र त्यहाँको उपाधि–सम्पत्तिको भोगचलन उनकै परिवारमा हस्तान्तरण हुँदै जाने पनि घोषणा गरियो।

त्यसबाहेक उनलाई सार्वभौम चरित्रका अन्य अधिकार र सहुलियत पनि प्रदान गरियो, जसअनुसार यी दुई जिल्लाबाहेक उनले पश्चिममा काली र पूर्वमा मेचीसम्म राज्य सञ्चालनको सम्पूर्ण अधिकार प्रयोग गर्न सक्नेछन्।

ती अधिकारहरूमा जीवन र मृत्युको अधिकार। सरकारका सबै अङ्गका कर्मचारी नियुक्त गर्ने र सेवाबाट बर्खास्त गर्ने अधिकार। अङ्ग्रेज, तिब्बती र चिनियाँ सरकारलगायत कुनै पनि विदेशी शक्ति राष्ट्रसँग सन्धिपत्रमा हस्ताक्षर गर्ने, युद्धको घोषणा गर्ने र शान्ति सम्झौता गर्ने अधिकार। दोषीमाथि दण्ड सजाय तोक्ने अधिकार। नयाँ कानुन बनाउने र पुरानो कानुन खारेज गर्ने (देवानी, फौजदारी र सैनिक) अधिकार पाएका थिए।

जंगबहादुरका शेषपछि उनका भाइहरू र त्यसपछि उनका छोराहरूमा हस्तान्तरण हुँदै जाने पनि घोषणा पत्रमा लेखियो। र, राजाबाट पनि राज्य सञ्चालनका क्रममा आन्तरिक वा बाह्य कुनै प्रकारको जोरजुलुम र गल्ती वा अपराध गरे उनीमाथि पनि निग्रह गर्ने अधिकार पनि जंगबहादुरलाई दिइयो।

त्यसपछि जंगबहादुर रोमका तानाशाह (रोमन सुल्ला इसापूर्व ८२–७९) जस्तै एक प्रकारको अनन्त तथा चिरस्थायी तानाशाह बनाइए।

युरोप भ्रमण र सम्मान: युरोप भ्रमण जाँदा ठूलो दलबलका साथ वि.सं १९०६ साल माघमा नेपालबाट हिँडेको राजप्रतिनिधिमण्डलले पटनाको पहिलो स्वागतमै १९ तोपको सलामी पायो।

कलकत्ताबाट पनि त्यस्तै सम्मान, सत्कार, सलामी लिँदै वि.सं. १९०७ साल जेठमा जंगबहादुर बेलायत पुगे।

भ्रमणमा भेटघाट गर्ने काम त छँदै थियो, विशेषचाहिँ त्यहाँको शासन व्यवस्था, सैनिक संरचना, शस्त्रागार आदि हेर्नेमा उनको रुचि थियो।

विश्व हल्लाउने फ्रान्समा पनि उसको शक्ति हेर्नेमा उनको रुचि थियो। त्यसरी दुई ठूला राष्ट्र भ्रमण, निरीक्षण गरेपछि जंगबहादुरले मनमा निश्चय गरे कि अब ब्रिटिशसँग लड्ने होइन, मेलमिलापबाट काम लिनुपर्छ। अंग्रेजसँग जुध्ने होइन, निहुरिने पनि होइन, मेलमिलापकै नीति लिनुपर्ने रहेछ, मावली भीमसेन थापाले लडेर गल्ती गरे, मैले पनि त्यस्तै गर्दा झन् गल्ती हुन्छ भन्ने सोच उनले बनाएको पाइन्छ।

दरवारको शिक्षा: श्री ३ जंगबहादुर राणाले नेपाल दरबारबाट (१) नेपालको राजदरबारमा पालिएकाहरूको विश्वास नगर्नु, (२) दरबारमा बोलाएका बेलामा विचारै नगरी नजानु, (३) राति एक्लै, असुरक्षित अवस्थामा दरबार प्रवेश नगर्नु, (४) राजनीतिमा नातागोता र समूहभन्दा मान, पद, षड्यन्त्र र हत्या ठूला हुन्। गुप्तचर कडा र सशक्त बनाउनु, (५) आफ्नो उन्नति हुन्छ भने अनैतिक र कायरभन्दा कायर काम गर्न पनि पछि नपर्नु, आदि शिक्षा पाएका थिए।

जंगबहादुर राणाको जंग व्यवस्थापन

जहाँनिया राणाशासनको संस्थापक जंगबहादुरलाई हुकुमी र निरंकुश शासक भएका कारण प्रजातन्त्रपछि चित्रण गरिएको छ। यो उनीमाथिको अन्याय मात्र होइन, इतिहासप्रतिको अपमान र अनैतिक कार्य हो।

जंगबहादुर राणा मात्र संसारको त्यस्तो कुसल व्यवस्थापक हुन्, जसले आफ्नो व्यक्तित्वको कारणले १०४ वर्षसम्म वंश शासनको कायम रह्यो।

पहिलो लिखित कानुनबाट न्याय निसाफ: मुलुकी ऐन १९१० नेपालको सबैभन्दा पहिलो लिखित कानुन हो।

मुलुकी ऐन नेपालको संहिताबद्ध राष्ट्रिय कानुन हो। पहिलोपटक वि.सं. १९१० मा मुलुकी ऐन जारी गरिएको थियो।

जंगबहादुर राणाले बेलायत यात्राबाट फर्केलगत्तै यो ऐन बनाएका थिए। आफ्नो ३१ वर्ष लामो शासनकालमा जंगबहादुरले छरिएर रहेका नियम कानुनलाई एकत्रित गरी ऐनको प्रकाशन गरेकाले यिनको पालामा बनेको ऐन कानुनको विशेष महत्व रहेको छ बेलायत भ्रमण गरेर फर्किएपछि उनले १९१० मा नेपालको पहिलो महत्वपूर्ण लिखित ऐन प्रकाशित गरी नेपालको पहिलो मुलुकी ऐनका रुपमा प्रख्यात रहेको छ।

झण्डै १ हजार ४ सय पृष्ठको पृष्ठको लिखित ऐनमा देशमा कानुनी समानता ल्याउन, कानुन जनसमक्ष पुर्याउन, चोरी, हत्या, अङ्गभङ्ग, डाँका, चोरीजस्ता अपराधमा आर्थिक दण्ड दिन, जग्गाको किसिम, खरिद-बिक्री, भूमिपति र मोहीको बीचको सम्बन्ध, कर, न्याय र सार्वजनिक प्रशासन, व्यापार, ठगी, हत्या, बलात्कार, विवाह, दास, सति, जुवा, पारिवारिक सम्पत्ति, लोक्ने स्वास्नी, रक्सी, करणी र करार आदि विशेष समावेश गरिएको ऐनले तत्कालीन सामाजिक वातावरणमा नयाँ आयाम थपेको पाइन्छ।

जंगबहादुरले ऐनमा ३५ वर्षकी अविवाहित छोरीलाई अंश दिनुपर्ने व्यवस्था गरेका थिए। जसको सान्दर्भिकता अहिले पनि रहिआएको छ। नेपालको दण्ड प्रणालीमा कठोर ठानेर भारतस्थित इस्ट इन्डिया कम्पनीले नेपाल सरकार नेपाल सरकार सुपुर्दगी सन्धि गर्न हिच्किचाएको थियो। यिनले संग्रहित ऐनमा न्याय निसाफ दिने न्यायाधीशको पनि कठोर दण्डको व्यवस्था गरेको पाइन्छ।

प्रशासन: जंग बहादुरको समयमा नेपालमा बेलायती मोडेलको प्रशासकीय संयन्त्रहरू सञ्चालन भएको पाइन्छ। जंग बहादुरले नयाँ विभागहरू स्थापना गर्दै प्रशासन यन्त्रलाई सञ्चालन गर्न मुलुकी अड्डा, कौशल अड्डा, वन विभाग, सराफका, किताबखाना, मुलुकी खाना लगायत विभिन्न विभागहरू स्थापना गरेका थिए। 

जंगबहादुरद्वारा स्थापित जंगी अड्डामा सैनिक प्रशासन सञ्चालन गर्न कौशल अड्डा, ऐन बनाउन ऐन खाना, मुलुकी अड्डा तथा दैनिक प्रशासन चलाउनका लागि प्रयोग गरिएको थियो। यसैगरी वनको संरक्षण गर्न वन विभाग, तोपहरूको व्यवस्थापनको लागि तोप खाना, स्वदेशी तथा विदेशी व्यापारीहरूको हितलाई मध्यनजर राखेर हालको राष्ट्र बैंकले गर्ने सराफखानासहित सैनिक कर्मचारीको लगत राख्न किताबखाना र सरकारी राजस्व जम्मा गर्नका लागि मुलुकी खाना जस्ता नयाँ विभागहरू स्थापना गरेका थिए।

सामाजिक अभियान: सामाजिक क्षेत्रमा यिनले गरेका कामबाट उनी सुधारवादी शासकको रुपमा देख्न सकिन्छ।

जंगबहादुरले सामाजिक सुधारको रुपमा विवाह प्रथामा सुधार गरी पाँच वर्षभन्दा कम उमेरकी नाबालिका छोरीको विवाह गर्न नपाइने, दुई वर्षभन्दा कम उमेरकी छोरीको विवाह गर्ने अभिभावकको सम्पूर्ण सम्पत्ति जफत गर्ने परिपाटीको सिर्जना गरेका थिए।

सामाजिक कुरुतिहरू हटाउने क्रममा उनले दासप्रथा, सतीप्रथालाई धाराशाही बनाउने वातावरण सिर्जना गरेका थिए।

शिक्षा व्यवस्थापन: उनले थापाथली दरबारलाई अङ्ग्रेजी शिक्षाको पठनपाठन सुरु गरेका थिए। उनले संस्कृत शिक्षाको विकासमा जोड दिएका थिए। यसका अतिरिक्त आयुर्वेदिक औषधि बनाउन प्रोत्साहन गर्दै आयुर्वेदिक विकासमा जोड दिएका थिए। मासिक १२०० तलब दिएर ब्रिटिश रेजिमेन्ट सर्जनलाई आफ्नो दरबारमा पनि राखेका थिए।

हुलाक सेवा: यिनले सरकारी हुलाकी नियुक्ति गरेर थाप्ले हुलाकीले भारी र कागते हुलाकीले चिठीपत्र बोक्ने गरी हुलाक व्यवस्था गरेका थिए।

सैनिक व्यवस्थापन: सेनालाई तालिम दिन उपयुक्त वर्दीको व्यवस्था गरी नयाँ छाउनी र ब्यारेकहरूको व्यवस्थापन समेत गरेका थिए। सैनिक बललाई बलियो बनाउन तोप व्यवस्थापन र हतियार बनाउने कारखाना निर्माण निर्माण गरिएको थियो। 

नेपाल तिब्बत युद्धमा चतुर जंगबहादुरले भोट जित्न सके सुगौली सन्धिले पारेको चोटमा मलमपट्टी लगाउन र राजा–प्रजालाई प्रशन्न पार्न सकिने देखेका थिए। 

किनकि, दोस्रो नेपाल–तिब्बत चीन युद्धपछि भएको बेत्रावती सन्धि अपमानपूर्ण र नेपालका लागि अहितकारी थियो। जंगबहादुर नेपालीको राष्ट्रिय गौरव फर्काउन चाहन्थे। 

चिनियाँ र ब्रिटेनमा राख्ने कार्यमा सफल भइसकेपछि जंगबहादुरले १४ हजार नयाँ सेना भर्ती गरे। त्यसपछि युद्ध सुरु गरे। सो युद्ध थापाथली सन्धिपछि सकियो। तिब्बतले नेपाललाई वर्सेनि १० हजार रूपैयाँ तिर्न बाध्य बनाए।

जुवाप्रथा प्रतिबन्धका प्रयास: जंगबहादुरले जुवा सम्बन्धी ऐन जारी गरेर नियमविपरीत जुवा खेल्ने वा खेलाउनेलाई दण्ड सजायको व्यवस्था गरेका थिए। यसका अतिरिक्त जुन चिज राखेर जुवा खेल्न नपाइने नियम बनाई जंगबहादुरले जारी गरेको जुवा बुद्धिमा जुवा खेल्न भनी चुट्की लागेपछि आफ्ना गाठीका रुपैयाँ पैसाले जुवा नखेल्नु साहु कसैले साहु कसैले नबस्नु बसी जुवा खेलायो भने हार्नेले अदालत थानामा आई फलाना साहुले मैले यति हारेँ भने नालिस गर्न आयो भने हार्नेलाई साहुको रुपैयाँ नतिराउनू र जति रुपैयाँ आसामी सित लिन दोब्बर साहुलाई दण्ड गर्नु जो यो उर्दी नागी वर्षला भारी दण्ड होला भनेका थिए। असर्फी कलदार पटनामोहर पैसा फुकाम राखी खेल्नु सार्ने सहार्ने र जित्नेको सदर गहना कपडा भाडा बर्तन द्वारा भने १९०५ अश्विन सुदी ४ मा जारी गरेका थिए।

सतीप्रथा प्रतिबन्ध: सती प्रथा प्रतिबन्ध लगाउन गरेका प्रयासमा उनले १९५४ को ऐनमा १६ वर्ष नपुगेकी विधुवा सती जान नपाउने, छोराको मृत्युमा आमा र कुमारीले सती जान नपाउने नियमलाई समावेश गरेका थिए।

दासप्रथा प्रतिबन्धः हटाउन जंगबहादुरले १० को मुलुकी ऐनमा भोटे, चेपाङ, माझी, दराई, दनुवार, कुमार आदि जातिलाई मासिने जात भनेर सुरुमा मासिया जातिबाहेक अन्य जातिलाई दासदासी बनाएर बिक्री गर्न नपाउने नियम जारी गरेका थिए। सन् १८६७ मा नेपाली व्यापारीले भारतबाट खरिद गरेका करिब ४५० जना दासदासीलाई मुक्त गरेर आफ्नै देश फिर्ता पठाएका थिए। कसैले स्वतन्त्र व्यक्तिलाई दास बनाएमा ३५० जरिवाना र चार महिना कैद हुने सजाय तोकेका थिए। कसैले कसैलाई कमारा कमारी राख्न नपाउने नियम यिनले बनाएका थिए।

टेलिफोन रोपे विद्युत: अन्य सुधार जंगबहादुरले त्यतिबेला पनि बेलायतको विकासबाट प्रभावित भएर टेलिफोन रोपे विद्युत सम्भावनाका अध्ययन गर्न युरोपेली विशेषज्ञ र चिनिया कलाकार मगाएका थिए, धर्मशाला निर्माण गरेका थिए।

हातेप्रेस: जंगबहादुरले बेलायतबाट ल्याएको एउटा हातेप्रेसबाट नेपालमा छापाखानाको विकास भएको थियो। यो नेपालको पहिलो प्रेस हो।

विदेशमा गुठी राख्न नपाइने: जंगबहादुरले विदेशमा गुठी राख्न नपाइने नियम बनाई हिन्दू र बुद्ध धर्मको मन्दिर र गुम्बाको संरक्षण गरिएको थियो। कालमोचन घाटमा नारायणको मन्दिर बनाई मृगस्थलीमा कोटीओम गरिएको थियो।

ब्रह्माण्डहरूलाई क्षतिपूर्ती: जंगबहादुरले रणबहादुर शाहको पालामा ब्रह्माण्डहरूको ६२ हरण गरिएको जमिनको सट्टा भर्ना हुने गरी बाँझाे जग्गा उपलब्ध गराइएको थियो।

पशुशालाको निर्माण: जंगबहादुरले नागार्जुन दरबार र बगैँचा गोकर्णको वनमा पशुशालाको निर्माण गरिएको थियो।

पहिलो जनगणना: मुलुकमा कति जनसंख्या छ भनेर नेपालमा सर्वप्रथम जनगणना लिने व्यवस्थाको थालनी गरिएको थियो।

कामी, सार्की र दमाईको जागिर नखोस्नू: जंगबहादुरले आफू बेलायत भ्रमणमा रहेको बेला आफ्ना भाइ तत्कालीन कार्यवाहक प्रधानमन्त्री बमबहादुर राणालाई आफ्नै हातले लेखेको पत्र कमल दीक्षितको ‘जंग गीता’मा छापिएको छ।

चिठीमा भनिएको छ, ‘कामी, सार्की, दमाई, कर्मीकाे जागिर खोसे इलम पनि बिग्रन्छ। कारखाना पनि बिग्रन्छ। कोते, पिपा, जमादार, खलासी एक पनि नखोसेस्। यिनलाई खोस्नु वडो अनविवेक हुन्छ, किनभने यी थोरै खाई धेरै काम गर्छन्। स्विकार्नैपर्छ। युगौँदेखि शोषण, दमन, दलन र उत्पीडनमा परेका नेपालका कामी, सार्की, दमाईलगायतका जातिले यो देशमा गरेको योगदान कम महत्वको छैन।

जंगबहादुरको नयाँ मुलुक: जंगबहादुर राणाले इस्ट इण्डिया कम्पनीसँग विशेष मित्रता कायम गरेका थिए। राणा शासन लामो समय टिकाउ हुनुमा उनीहरूप्रति अङ्ग्रेजको विशेष निगाहले पनि काम गरेको थियो।

जंगबहादुरले अङ्ग्रेजलाई रिझाउन कतिसम्म गरे भने भारतमा फैलिएको सैनिक विद्रोह दबाउन आफू मातहतका सैन्य अफिसरको नेतृत्वमा नेपाली सैनिक पठाएर मात्रै उनलाई चित्त बुझेन। उनी स्वयं आफ्ना विश्वासिला भाइहरूसहित अङ्ग्रेजको सेवा गर्न भारत पुगे।

देशको एउटा शक्तिशाली प्रधानमन्त्री अर्का देशको आन्तरिक विद्रोह दबाउन सैन्य नेतृत्व गर्न पुगेको संसारकै लागि दुर्लभ घटना हुनुपर्छ। जंगबहादुरले सैनिक विद्रोह दबाएर अङ्ग्रेजलाई लगाएको गुनवापत सुगौली सन्धिबाट गुमेका केही भू-भाग फिर्ता गर्न सफल भए। नयाँ मुलुक भनी चिनिएका ती भू-भाग हुन्, अहिलेका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला हुन्।

जंगबहादुरको व्यक्तित्व र मूल्याङ्कन

नेपालकै कुख्यात तानाशाहका रुपमा स्थापित जंगबहादुर राणाको मृत्यु वि.सं. १९३३ मा पत्थरघट्टामा यिनको मृत्यु भयो। उनीसँग उनका तीन रानी सति गए। जंगबहादुरले सुरु गरेको जहाँनिया राणा शासन १०४ वर्षसम्म चल्यो।

२००७ सालको आन्दोलनपछि राणाहरूको सत्ता अन्त्य भयो। राणाकालपूर्व शिक्षाको प्रादुर्भाव नै भएको थिएन।

राणाको १०४ वर्ष एउटा यस्तो अवधि थियो, जुन कालमा छिमेकी ब्रिटिश भारतले आफ्नो शैक्षिक र औद्योगिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्‍यो।

दुर्भाग्य विदेशीहरूले निष्कर्ष निकाले, ‘नेपालमा शिक्षा ठीक त्यत्तिकै अप्राप्त छ तर राणाले नेपालले उच्च शिक्षा मात्र होइन, पाश्चात्य शिक्षाको पनि जग हाल्न सक्यो।

जंगबहादुर कुँवर राणाले नेपालमा पाश्चात्य शिक्षाको जग बसाले। ईशाको १८५० मा एसियाकै पहिलो प्रधानमन्त्रीका रूपमा ब्रिटेनको भ्रमणमा पुगेका जंगबहादुरले ब्रिटिश साम्राज्यले गर्न सकेको विश्व विजय र प्रगतिको पछाडि उसको शैक्षिक जागरण नै कारक रहेको हृदयङ्गम गरी नेपालीका छोराहरूमा पनि त्यस्तो शिक्षा दिन सकियोस् भन्ने हेतुले नै नेपालमा पाश्चात्य शिक्षाको जग बसालेका थिए।

प्रारम्भमा जंगबहादुरकै गोल बैठकमा यो पाश्चात्य शिक्षाको श्रीगणेश भएको कारण पछिबाट नेपालको पाश्चात्य ढर्राको माध्यमिक शिक्षण संस्थाको प्रथम नाम नै दरबार हाइस्कुल पर्न गयो। त्यसताका राणा प्रधानमन्त्री जंगबहादुरको निवास थापाथलीमा थियो र थापाथली दरबार भनिन्थ्यो। सोही दरबारमा रहेको उनको भव्य गोल बैठकमा अङ्ग्रेजी शिक्षक मास्टर क्यानिङ्गले उनका छोराहरूलाई पाश्चात्य शिक्षा दिन थालेपछि विधिवत नेपालमा अङ्ग्रेजी शिक्षाको जग बस्यो।

वि.सं. १९९१ सालमा जंगबहादुरका छोराहरूले मात्र पढ्ने यस गोल बैठक शिक्षामा उनका भाइ, भतिजाहरू पनि संलग्न हुन थाले। त्यसैगरी दरबारिया भाइ भारदारका छोराहरूले पनि यसमा पढ्ने छुट पाउँदै गए।

अन्ततः द्वितीय राणा प्रधानमन्त्री रणोद्विपसिंहका पालामा वि.सं. १९४८ मा उक्त गोल बैठकमा हुने पाश्चात्य पढाइ कार्यका लागि रानीपोखरीको पश्चिमतर्फ एक पृथक भवन बनाइ उक्त पठनपाठन कार्य त्यही स्थानान्तरण गरेपछि नै नेपालमा औपचारिक ढङ्गले माध्यमिक स्तरको पाश्चात्य शिक्षाको प्रादुर्भाव हुन सकेको हो। जो हालसम्म भानु माध्यमिक विद्यालयतर्फ दरबार हाइस्कुलका रूपमा छ।

कोतपर्वको नरसंहारपश्चात् शक्तिशाली भएका जंगबहादुर राणा भण्डारखाल पर्वपश्चात् राजसंस्थाभन्दा शक्तिशाली भए। अङ्ग्रेजसँगको लडाइँमा गुमेकोमध्ये यिनले अङ्ग्रेजलाई खुसी पारी नयाँ मुलुकको नामले चिनिने भुमी फर्काइएको थियो।

राजनीतिक अस्थिरताको अँध्यारो पक्षमा उपत्यकाको माटोलाई रगतले सिंचित गरेर शाहवंशीय राजाले अधिकार शाहवंशीय राजाबाट अधिकार लिएर श्री ३ महाराज र प्रधानमन्त्रीको पद आफू र आफ्नो परिवारमा सीमित पार्न सफल भएका जंगबहादुर हृदयले कठोर बुद्धिले कुटिल स्वभावले वीर प्रकृतिका महत्वाकांक्षी व्यक्तित्व थिए।

आफू र आफ्नो परिवारको भविष्य उज्ज्वल पार्नका लागि विश्वको सर्वश्रेष्ठ साम्राज्यवादी मुलुक बेलायतको सहयोगबाट नेपालको सत्तामा उदाउन पुगेका जंगबहादुर ठूला साहसी कूटनीतिज्ञ र राजनीतिज्ञ थिए कि उनी जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो चाहना अनुरुपको कार्य गर्न अग्रसर रहन्थे।

जंगबहादुर अरुद्वारा पत्रपत्रिका पढ्न लगाई सुन्नेतामा जोड दिने पारिवारिक खर्चको कारोबार आफैँ गर्ने नेपाली औषधि मात्र प्रयोग गर्ने गरेका थिए, अस्थिर राजनीतिक परिवेशलाई अस्थिरताको राजनीतिलाई अस्थिरताको राजनीतिलाई स्थिर बनाउन जंगबहादुरलाई समयले जन्म दिएको र उनको सफल सबल-प्रबल र सक्षम नेतृत्वले युग अनुसारको युग पुरुष जन्म दिएको भन्न सकिन्छ। वास्तविकता र युगको मागअनुसार अङ्ग्रेज मित्रको आडमा प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउन सक्ने सामर्थ्य स्वाभिमानी र दूरदर्शीपूर्ण जंगबहादुरमा देखिन्छ।

जंगबहादुरले व्यापार र सेनापतिसम्बन्धी नेपालको इज्जत र प्रतिष्ठालाई बिक्री गर्ने काम गरेनन्। रक्तकुण्डमा पुगेर जहानिया शासनको नेतृत्व गरेतापनि नयाँ मुलुक बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई नेपालमा मिसाउने काम गरे। विश्व परिवेशमा कानुनको संहिताकरणको नेपाललाई पनि समाहित गर्दै नेपालको पहिलो मुलुककी ऐन जारी गर्ने प्रयास गरे।

वीर, साहस र चातुर्यताको भारी सफलताले प्राप्त गरेका जंगबहादुर राणा विश्व इतिहासमा एक सफल कुटिल र दक्ष शासकका रुपमा लिन सकिन्छ। उनलाई ब्रिटिश रेसिडेन्स सर हेनरी लरेन्सले उनकै शब्दमा कृष्ण बुद्धि एवं दमनकारी व्यक्तित्व भएका ठूला कूटनीतिज्ञ र अवसरवादी थिए।

पर्सिबल ल्यान्डले उल्लेख गरेअनुसार जंगबहादुर एसियाकै नेतामध्येका एकजना थिए। उनलाई विश्वप्रसिद्ध पुरस्कारबाट सम्मानित गरिएको थियो। जंगबहादुर नेपालमा मात्र होइन, एसिया महादेशकै नेता रहेको आफ्नो व्यक्तित्व र पुरुषार्थको परिचय दिएका थिए।

डा. महेन्द्र जंग शाहका थप लेखहरु :
प्रकाशित मिति: : 2024-02-28 21:40:00

प्रतिकृया दिनुहोस्