बेरोजगार हुने डरले पलपल मृत्युसँग लडिरहेका छन्, युरोपमा बस्ने नेपालीहरू

महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण अहिले विश्व नै आतंकित छ। चीनको उहान शहरबाट शुरू भएको कोरोनाको प्रभाव यति बेला युरोपेली राष्ट्रमा अत्याधिक देखिएको छ। इटाली, स्पेन, फ्रान्स र नेदरल्याण्डपछि जर्मनी सबैभन्दा प्रभावित देश हो। यद्यपि जर्मनीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या अन्य युरोपेली देशभन्दा कम छ। 

तर पनि यो देश संक्रमणको हिसाबले विश्वको पाँचौ उच्च जोखिममा पर्छ।  जर्मनीमा ५० हजार ८ सय ७१ मानिसमा संक्रमण देखिसकेको छ। हरेक दिन ७ हजारको दरले नयाँ संक्रमणकारी बढिरहेका छन्। ३ सय ४२ जनाको मृत्यु भइसकेको छ। 

यस्तो अवस्थामा जर्मनीमा कार्यरत नेपाली भने मृत्युको मुखमा पनि काम गर्न विवश छन्। सिधै भन्नु पर्दा, काम नपाउने डरले मृत्युसँग लडिरहेका छन्, जर्मनीमा बसोबास गर्ने नेपालीहरू। 

यसको ज्वलन्त उदाहरण हुन्, इश्वरी आचार्य। उनी अहिले चारैतिर कोरोनाले रौद्र रूप धारण गरिरहेको बेला बेरोजगार हुने डरले काममा तल्लीन छिन्। यो पीडा उनको मात्र होइन, युरोपमा काम गर्ने प्रायः सबै नेपालीको उस्तै छ। 

इश्वरी ५ वर्षअघि जर्मनी पुगेकी हुन्। उनी अहिले ह्यामबर्गमा अनलाइन ब्यापार कम्पनीमा कार्यरत छिन्। उनको कम्पनीमा कार्यरत ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भइसकेको छ। तर, उनी डरका बीच पनि पहिले जस्तै नियमित काममा गइरहेकी छिन्। 

‘के गर्ने काम त गर्नु पर्‍यो,’ इश्वरी भन्छिन्, ‘मेरो कम्पनीमा काम गर्ने ९ जना साथीमा कोरोना संक्रमण सकारात्मक पाइएको छ। तर, कम्पनीले छुट्टी दिएको छैन, त्यसैले नियमित आउनु पर्छ।’

उनलाई पनि केही दिनअघि हल्का ज्वरो आएको थियो। रुघाखोकी पनि उस्तै। त्यही पनि उनी काममा गइरहेकी थिइन। ‘अफिसका मानिसलाई कोरोनाको संक्रमण भएको सुनेपछि मलाई पनि डर लागिरहेको छ,’ उनले भनिन्, ‘तर, अहिले केही कम भए जस्तो भएको छ।’

युरोपका अन्य देश जस्तै जर्मनी पनि कोरोनाको उच्च जोखिममा हुँदा उसले आफ्नो कलकारखाना पूर्ण रूपमा ठप्प गरेको छैन। 

रोगको डरले यति बेला जर्मनीमा पनि मास्क पाउन कठिन छ। त्यसैले इश्वरी जस्ता थुप्रै नेपालीहरू मास्क बिना नै काममा जाने गरेका छन्। 
जर्मनीमा बिरामी छुट्टी बस्न डाक्टरको सर्टिफिकेट आवश्यक पर्ने गर्छ। तर, यति बेला अवस्था यस्तो छ, अस्पतालमा इश्वरी जस्तालाई सामान्य बिरामी भन्दै चिकित्सकले हेर्न मान्दैनन्। कारण, त्यही कोरोना हो। कोरोनालाई नियन्त्रणमा ल्याउन जर्मनीका चिकित्सकहरूलाई पनि हम्मेहम्मे परेको छ। 

‘अस्पतालमा गयो। उपचार गर्न मान्दैनन्। घरमा गएर बस भन्दिन्छन्,’ उनले दुःखेसो सुनाइन्, ‘अफिस नगए। बिरामीको सर्टिफिकेट खोई भन्छन्।’

अरु नेपाली झैं उनलाई पनि अहिले देश फर्किन मन छ। कोरोनाको त्रासका बीच लामो समय जर्मनीमै बसिरहे थप मानसिक पीडा बोक्न बाध्य हुने परिस्थितिका बीच उनले सुनाइन्, ‘नेपाल जान पनि सबै बन्द छ। पाएको काम छाडौं। यस्तो स्थितिमा कतिञ्जेल बाच्नुपर्ने हो, थाहा छैन। बाचुञ्जेल खानु पर्‍यो। कोठाभाडा तिर्ने पर्‍यो। कसरी काम छोड्ने?’

कोरोनाका कारण बेरोजगारी हुँदा भोकै मरिने हो कि भन्ने डरले इश्वरी जस्ता हजारौं नेपालीहरू युरोपमा कोरोना संक्रमित साथीहरूको भीडमा काम गर्न विवश छन्। 

याे पनि

सरकार ! हामी पराई देशमा कहिलेसम्म अलपत्र पर्ने?, दूतावासमा फोनै उठ्दैन (भिडियो)
महावीर पुनले जिम्मा लिएको डाक्टरको पीपीई तयार, आजदेखि डेलिभरी (भिडियाेसहित)
कोरोनाको डरले मलामी नौ जना, आर्यघाटमा परिवारबाहिरका मलामी आउँदैनन्  (भिडियाे)
स्विट्जरल्याण्डका पूरै नाका बन्द, दाेस्राे विश्वयुद्धपछि सेना मैदानमा उत्रियाे (भिडियाे)
प्रकाशित मिति: : 2020-03-28 18:34:29

प्रतिकृया दिनुहोस्