प्रशिक्षणमा मेसीसहित १७ खेलाडी अनुपस्थित

क्याटलान क्लब बार्सिलोनाले सोमबारदेखि नयाँ सिजनको लागि प्रशिक्षण सुरुवात गरेका छन्। नयाँ प्रशिक्षकको रुपमा नाउ क्याम्प सम्हाल्न आइपुगेको रोनाल्ड कोम्यानले प्रशिक्षण सुरु गरेका हुन्।

बार्सिलोनाको पहिलो दिनको प्रशिक्षणमा लियोनल मेसीसहित १७ खेलाडी भने अनुपस्थित रहे। मेसीको क्लबसँगको विवाद र पहिलो रोजाईका खेलाडीहरु इन्ज्युरी, अन्तर्राष्ट्रिय ड्युटी र समर छुट्टीमा रहेका कारण टोलीको प्रशिक्षणमा सामेल हुन असमर्थ रहेको बताइएको छ।

क्विक सेटियन बर्खास्तमा परेपछि बार्सिलोनाले डच प्रशिक्षक कोम्यानलाई नाउ क्याम्पको जिम्मेवारी दिने निर्णय गरेको थियो। तर बार्सिलोना छाड्ने चर्चामा रहेका मेसीले प्रशिक्षण जानुअघि कोरोनाको परिक्षण समेत गराएनन् भने पहिलो सत्रमा कप्तान तथा मुख्य खेलाडी मेसी पनि अनुपस्थित रहे।

पहिलो रोजाईका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगन चोटका कारण टोली बाहिर छन्। यता  लोनमा जर्मन क्लब बायर्न म्युनिखमा रहेका च्याम्पियन्स लिग विजेता टोलीका सदस्य फिलिपे कौटिन्हो समर छुट्टीमा रहेका छन्। 

यसै सिजन क्लबमा अनुबन्ध गरिएका मिडफिल्डर मिरालेम प्यानिच कोरोना संक्रमणका कारण इटलीमा सेल्फ आइसोलेसनमै रहेका छन्।

फ्रेन्की डि जोङ, सर्जियो बुस्क्वेट्स, क्लेमेन्ट लेङ्लेट, एन्टोइन ग्रिजमन, फ्रान्सिस्को ट्रिन्काओ, नेल्सन सेमेडो, मार्टिन ब्रेथवेट, अन्सु फाती, इनाकी पेना, रिकी पुच, जुवान मिरान्डा, कार्लेस एलेना र पेड्री प्रशिक्षणमा सामेल छैनन्।

यता सेभिया जाने निश्चित भएका इभान राकिटिक समेत प्रशिक्षणमा अनुपस्थित थिए। यस्तै लुइस सुआरेज भने कोम्यानको पहिलो अभ्यास सत्रमा सहभागी थिए।

यसबाहेक बाँकी खेलाडीहरु पनि छिट्टै नै टोलीको प्रशिक्षणमा सामेल भएनन्।

कोम्यानले एकेडेमीका खेलाडीलाई समावेश गर्दै प्रशिक्षण शुरुवात गरेका थिए।  प्रशिक्षणमा जेरार्ड पीके बल अघि बढाईरहेको देखिन्थे भने उसमान डेम्बेले नयाँ जर्सीमा अभ्यास गरेका थिए।

प्रशिक्षणमा अनुपस्थित रहेका मेसीलाई बार्सिलोनाले अहिलेसम्म आर्थिक जरिवानाको निर्णय सुनाएको छैन। लगातार तीन दिन अभ्यास सत्रमा सहभागी नभएको खण्डमा खेलाडीलाई बिना तलब क्लबले निलम्बित गर्न पाउने नियम छ। उनलाई बिना तलब निलम्बन गर्न सक्ने र मासिक तलबबाट २५ प्रतिशत रकम कटौती गर्न मिल्नेछ।

तर अन्तिम निर्णयको अधिकार क्लबसँग रहेको छ। मेसीले गएको हप्ताको मंगलबार क्लबलाई पत्र लेखी आफू बाहिरिन चाहेको र रिलिज क्लबलाई सहज बनाउन आग्रह गरेका थिए। मेसीका पिता जर्ज र क्लबका अध्यक्ष जोसेफ बार्टोमेउबीच यस हप्ताको अन्तिममा हुने छलफल अघि बार्सिलोनाले कुनैपनि निर्णय लिने सम्भावना नरहेको बताइएको छ।

यता क्लब छाडेपछि उनको स्थानमा ल्याउने खेलाडीका बारेमा पनि बार्सिलोनाले तयारी थालेको छ। 

बार्सिलोनाले मेसीको स्थानमा इटालियन क्लब इन्टर मिलानका लौतारो मार्तिनेजलाई ल्याउने विकल्पबारे छलफल थालेको छ।

तर उनको रिलिज क्लजका कारण १६ वर्ष बार्सिलोनामा बिताए मेसीको बिदाई सहज नहुने देखिएको छ।

बार्सिलोनाका शीर्ष अधिकारीहरु मेसी इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित हुने अपेक्षा रहेको बताएका छन्। ३३ वर्षका मेसीलाई भित्र्याउन सिटी प्रयासरत छ। 

क्लबले सुपरस्टार मेसीलाई भित्र्याउने तथा प्रशिक्षक पेप गार्डिवलासँग नयाँ सम्झौता गर्ने गरी छलफल अघि बढाएको छ।

तर मेसीलाई अनुबन्धित गर्न चाहने क्लबले ७०० मिलियन युरोपको रिलिज क्लज पूरा गर्नु पर्ने हुन्छ। जुन १० सम्ममा मेसीले क्लब छोड्न चाहेको जानकारी गराएको भए उनी स्वतन्त्र मूल्यमा अरु कुनै क्लब अनुबन्धित हुन सक्थे।

याे पनि

बार्सिलोना छोड्ने मेसीकाे निर्णय, छलफल गर्न क्लबले डाक्याे आकस्मिक बैठक

बार्सिलाेनालाई मेसीकाे पत्र: व्यक्तिगत कारण म याे कठिन निर्णय लिन बाध्य छु

मेसीकाे ‘रिलिज क्लज’ नेयमारकाे भन्दा तीन गुणा बढी !

ग्वार्डिओलासँग मेसीकाे टेलिफाेन कुराकानी

मेसीलाई बार्सिलोनामै राख्न बार्टोमेउले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने !

सिटीकाे आकर्षक प्रस्ताव: बार्सिलाेनालाई तीन खेलाडी र पैसा दिने, मेसीलाई ३ वर्षका लागि लिने, जुनसुकै बेला जान दिने

‘म अझै दुईपल्ट बालोन डी’ओर जित्न चाहन्छु, त्यो केवल तपाईँको प्रशिक्षणमा मात्रै सम्भव छ’

बार्सिलाेना र मेसीको चेस गेम, काे हाेला विजेता ?

मेसीका लागि ५०० मिलियन युरो तिर्न सिटी तयार, तर बार्सिलोनाबाट बर्हिगमन असहज

प्रकाशित मिति: : 2020-09-01 08:28:18

प्रतिकृया दिनुहोस्