सीडीओले थुनेपछि बनेका ‘महावीर’

महाविर पुन

काठमाडौं
BreaknLinks
BreaknLinks

एउटा यस्तो घटना भयो, जसले गर्दा मेरो जीवनमा सोच्दै नसोचेको मोड आयो। त्यो घटना थियो त्यतिबेलाका चितवनको प्रमुख जिल्ला अधिकारी अर्थात्, सिडिओसँग झगडा पर्नु। सिडियोको नाम रामकृष्ण पन्त जस्तो लाग्छ तर उनको नाम त्यही नै हो भनेर भन्न सक्दिनँ।

२०४३ सालको एस.एल.सी. को अन्तिम परीक्षा चलिरहेको थियो। कक्षाकोठामा विद्यार्थीहरू जाँच दिइरहेका थिए र शिक्षकहरू निरीक्षकका रूपमा बसिरहेका थिए। त्यो दिन मेरो काम कक्षाकोठाहरूमा थप पुस्तिका पुर्‍याइदिने र शिक्षकहरूलाई पालो दिने थियो।

त्यति नै बेला चितवनका सिडिओ गाडीमा आएर परीक्षा चलिरहेको हरेक कक्षाकोठामा सिधै गई त्यहाँ निरीक्षकको रूपमा काम गरिरहेका शिक्षकलाई ‘राम्रोसँग हेर्, चिट चोर्न नदिनू, चिट चोरेको देखें भने तँलाई नै कारबाही गर्छु’ भन्दै हप्काउन थाले। शिक्षकहरू कसैले पनि केही बोलेनन्। म सिडिओको पछिपछि थिएँ। उनको यो अभद्र ताल देखेर मलाई झनक्क लाटो रिस उठ्यो।

सिडिओ तल चौरमा झर्नेबित्तिकै रिसको झोंकमा भनें, ‘विद्यार्थीहरूको अगाडि किन त्यसरी हाम्रा शिक्षकहरूलाई हप्काउनुभयो? शिक्षकहरूको के गल्ती थियो र? गल्ती नै गरेको भए बरू कारबाही गर्नुस् न।’ मैले यति भन्ने बित्तिकै ती सिडिओ बुरुक्क उफ्रेर भने, ‘तँ को होस् मलाई सिकाउने?’ अनि पुलिसहरूतिर हेर्दै ‘यसलाई समात’ भने तर पुलिसहरूले मलाई समात्नचाहिँ समातेनन्।

त्यत्तिकैमा अरू शिक्षकहरूले मलाई तानेर एकातिर लगे र सिडिओ अर्कोतिर लागे। त्यो पञ्चायती व्यवस्थाको जमाना थियो। सिडिओहरू निकै नै शक्तिशाली हुन्थे। ती सिडिओ त्यति बेलाका खुङ्खार सिडिओका रूपमा चितवनमा चिनिन्थे। उनी ज्यादै कडा स्वभावका र कट्टर राजावादी थिए। चितवनमा कसैको पनि उनको अगाडि गएर बोल्ने हिम्मत थिएन। कसैले राजाको विरोध गर्यो भने वा उनीसँग वादविवाद गर्‍यो भने पुलिस चौकीमा लगेर थुनिहाल्थे। तिनै सिडिओसँग यसरी मुख लाग्नाले नै मेरो जीवनमा सबैभन्दा ठुलो मोड आएको थियो।

त्यो भनाभन भएकै दिन त सिडिओले मलाई समातेर लगेनन्। तर, केही महिनापछि एकदिन स्कुल छुट्टी भएपछि म एक्लै बाटोमा हिँडिरहेको थिएँ। मेरो पछाडि एउटा गाडी आएर रोकियो। फर्केर हेर्दा त तिनै सिडिओ रहेछन्। मैले नमस्ते पनि भनिनँ। उनले मलाई बोलाएर ‘कहाँ जान लागिस्?’ भनेर सोधे। मैले कहीँ जान लागेको होइन भनेपछि ‘लौ गाडीमा बस्’ भने। उनले मलाई लिएर भरतपुरको पुलिस चौकीमा लगेर झारे। अनि पुलिसलाई ‘यसलाई यहीं राख्नु’ भनेर बाहिर निस्के।

यसरी मलाई पुलिस चौकीमा राखियो तर केही पनि सोधपुछ गरिएन। मलाई किन थुनेको हो भनेर मैले पुलिसहरूलाई सोध्दा उनीहरूले पनि केही थाहा नभएको कुरा भने। ‘सिडिओ साहेबले भनेर थुनेको हो’ मात्र भने। पुलिस चौकीको एउटा सानो कोठामा १२ जना जतिलाई कोचेर राखिएको रहेछ। त्यहाँबाट दिनदिनै कोही निस्कन्थे र कोही थपिन्थे। त्यसरी पुलिस थानामा बस्दा उडुसले खाएको अहिलेसम्म पनि बिर्सेको छैन।

सबै बन्दीहरू लाइन नै लागेर भुइँमा सुतिन्थ्यो। गर्मी महिना भएकोले जाडो हुँदैनथ्यो। त्यो कोठामा धेरै उडुसहरू थिए र कोठाको भित्ताभरि नै रगत खाएर ढाडिएको उडुस मार्दा भित्ता नै रगतले रङ्ग्याएको जस्तो थियो। त्यसरी जबर्जस्ती सुतियो। तीन-चार दिनपछि त उडुसले टोकेको पनि थाहा हुन छाड्यो। भरतपुरका साथीहरूले ल्याइदिएको खाने कुरा खान्थेँ। बिहान र बेलुकी दिसा पिसाब गर्न पाइखानासम्म पुलिसले नै लैजान्थे।

पुलिसथानामा बसेको ७ दिनमा एक जना पुलिस आएर ‘तपाईं जानुस् रे’ भनेर छोडिदिए। अनि म त्यहाँबाट सोझै भरतपुरको सिडिओ अफिसमा गएँ। सिडिओको कोठाभित्र पसेर ‘मलाई किन थुन्नुभएको हो?’ भनेर सोधेँ। सिडिओले मलाई हकार्दै ‘चुप्प लागेर स्कुल जा अनि पढाउन सुरु गर्, राम्रोसँग पढाउनु’ भने। मैले पनि ‘सिडिओ भएर बिनाकारण थुन्न पाइन्छ? तपाईंको जागिर म खान्नँ’, भनेर निस्केँ। त्यसपछि खैरहनी हाइस्कुल गएर सबै साथीहरूलाई राजीनामा दिने जानकारी दिएँ। सबैले मलाई स्कुल नछोड्नु भनेर फकाए, सम्झाए। तर, मैले मानिनँ।

त्यतिबेलाका हेडमास्टर चेतनाथ बराल सरले मलाई केही दिन घुमेर आउनु भन्ने सल्लाह दिनुभयो। मेरो राजीनामा स्वीकृत गरिदिनु भएन। तर, मेरो रिस मर्दै मरेन। एक-दुई दिनपछि साथीहरूसँग ‘म अब शिक्षकको जागिर खान्नँ र फर्केर पनि आउँदिनँ’ भनेर काठमाडौँ हिडेँ।

यसरी सिडियोसँगको त्यो रिसको झोकले मेरो जीवनमा सोच्दै नसोचेको मोड ल्याइदियो। मलाई अमेरिका जाने बाटोको पृष्ठभूमि बनाइदियो र संसार देख्ने मौका दियो। अचेल सोच्दा ती सिडिओले मलाई पुलिसचौकीमा थुनेर ज्यादै ठुलो गुन लगाएछन् जस्तो लाग्छ। नत्र मैले पक्कै पनि स्कुलको नोकरी छोड्ने नै थिइनँ र अमेरिका जाने कुरै निस्कने थिएन। तर, अमेरिका जाने त्यो मौका सजिलै मिलेको भने थिएन।

अचानक बनेको अमेरिका पढ्न जाने योजना

त्यतिबेला बुटवलमा घर भएका मेरो काकाका ४ जना छोराछोरी सोह्रखुट्टे, नयाँबजारमा डेरा गरेर स्कुलमा पढिरहेका थिए। म काठमाडौँमा आएर उनीहरूसँगै बस्न थालेँ। आगामी दिनहरूमा के गर्ने भनेर कुनै योजना बनाएर म काठमाडौँ आएको थिइनँ। त्यसैले केही समयसम्म म त्यत्तिकै भौतारिएर घुमेँ। त्यतिबेलासम्म मैले नै खैरहनी हाइस्कुल पढाएका केही विद्यार्थीहरू काठमाडौँमा पढ्न थालिसकेका थिए। कतिले त पढाइ पूरा गरेर जागिर नै खान थालेका थिए। कोही चाहिँ पसल खोलेर व्यापार गर्ने पनि थिए। काठमाडौँमा आएपछि म प्रायजसो तिनै पुराना विद्यार्थीलाई भेटेर घुम्ने र उनीहसँगै कुरा गरेर दिन बिताउन थालेँ। कहिले एउटाको त कहिले अर्काको डेरामा गएर दिन कटाउन थालेँ।

काठमाडौँमा कुनै जागिर पाइयो भने खान्छु भनेर जागिर पनि खोजेँ। तर, जागिर पाउने कुनै सम्भावना देखिएन। त्यतिबेला मैले फाट्टफुट्ट केही मानिसहरू अरब मुलुकतिर जागिर खान जान्छन् रे, राम्रै तलब दिन्छ रे भन्ने हल्ला पनि सुनेको थिएँ। तर, अरबमा जागिर मिलाइ दिनका लागि अहिलेजस्तो कुनै पनि मेनपावर कम्पनीहरू खुलेकै थिएनन्। जागिर मिलाइदिने कोही भेटिएन र आफैँले केही मेसो पाउन सकिएन। त्यतिबेला कसैले मलाई अरबतिर जागिर खाने मौका मिलाइदिएको भए मेरो जीवन पक्कै पनि अर्कै दिशातिर मोडिन्थ्यो।

अरबतिर नोकरी खोज्नुको अर्को कारण के थियो भने त्यतिबेला अहिलेको जस्तो जापान, कोरिया, अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जर्मनीजस्ता देशहरूमा काम गर्न जाने अथवा पढ्न गएर उतै काम गर्ने चलन थिएन र मलाई थाहा पनि थिइन।

मेरो उमेर ३१ वर्ष पुगिसकेको हुनाले विदेशमा पढ्न जाने भन्ने कुरा त सपनामा पनि सोचेको थिइनँ। अनि १३ वर्ष जागिर खाएको र ३१ वर्षको मान्छे फेरि कहाँ पढ्न जाने? काठमाडौँमा बस्दाको मेरो उद्देश्य नै कुनै न कुनै जागिर खोज्ने थियो। त्यसरी भौतारिरहेको अवस्थामा मैले खैरहनी हाइस्कुलमा पढाएको र काठमाडौंमा कलेज पढ्दै गरेको एक जना पूर्वविद्यार्थीले मेरो सोचमा ठुलै प्रभाव पारिदियो।

उसको नाम उदय मैनाली हो। खैरहनी हाइस्कुल पढाउँदा म उसको घरमा गइरहन्थेँ। काठमाडौँ आएर पनि म धेरैजसो उसैसँग घुम्थें र उसको घरमा पनि बस्थेँ। त्यसरी मलाई बिनाकाम काठमाडौँमा बसिरहेको र समय बर्बाद गरिरहेको देखेर उसले एक दिन भन्यो, ‘सर, तपाईं यसरी काठमाडौँमा घुम्नुको सट्टा कि जागिर खानुस् कि त अमेरिका पढ्न जानुस्।’

मैले जागिर खोजिरहेको कुरा उदयलाई थाहा थियो र जागिर नपाएको कुरा पनि। अमेरिका पढ्न जाने भन्ने त मैले सोचेकै थिएनँ र कसरी जाने भन्ने पनि केही थाहा थिएन। मैले उसलाई भनें, ‘के कुरा यो। अमेरिका कसरी पढ्न जाने? अनि यो उमेर पढ्न जाने उमेर हो र? कलेजमा सँगै पढ्ने आफ्ना केही साथीहरूबाट उसले अमेरिका पढ्न जान के-के गर्नुपर्छ भन्ने कुरा सुनेको रहेछ। उसले तिनै कुरा मलाई सुनायो। सबैभन्दा पहिले त टोफल भन्ने अङ्ग्रेजी भाषाको जाँच दिनुपर्ने रहेछ। काठमाडौँको न्युरोडमा भएको अमेरिकन लाइब्रेरीमा गएर अमेरिका कसरी पढ्न जाने भनेर आवश्यक जानकारीहरू लिनुपर्ने रहेछ।

मलाई पहिलोपटक अमेरिका पढ्न जानको लागि सल्लाह दिने उदय मैनाली अहिले अमेरिकाको भर्जिनिया राज्यमा सपरिवार बसेको छ। त्यतातिर जाँदा ऊ अझै पनि मलाई भेट्न आउँछ।

अमेरिका पढ्न जाने जानकारीहरू लिनका लागि पहिले कहिल्यै नपसेको अमेरिकन लाइब्रेरीमा म पसेँ। त्यसपछि त छुट्टीको दिनबाहेक हरेक दिन अमेरिकन लाइब्रेरीमै बिताउन थालेँ। त्यहाँ बसेर ‘टोफल’ जाँचको तयारी सुरू गरे। त्यो लाइब्रेरीमा हप्ताको एकदिन अमेरिकाको बारेमा विभिन्न किसिमका डकुमेन्ट्री पनि देखाइन्थ्यो। यस्ता फिल्महरु कुनै पनि म छुटाउँदिन थिएँ।

टोफलको तयारी गर्ने क्रममा थाहा पाएँ, मेरो अङ्ग्रेजी त साह्रै कमजोर पो रहेछ। आइ.एस्सी. मा अङ्ग्रेजी पढेको भए तापनि स्कुलमा १३ वर्षसम्म नेपालीमा मात्र पढाउँदा अलिअलि जानेको अङ्ग्रेजी भाषा पनि बिर्सेजस्तै भएछ। अमेरिकन लाइब्रेरीले नै त्यतिबेला लाइब्रेरी नजिकै सञ्चालन गरेको अमेरिकन ल्याङ्ग्वेज इन्स्टिच्युटमा भर्ना भएर भाषा सिक्न थालेँ।

त्यो जमानामा काठमाडौँजस्तो सहरमा पनि कसैकसैको घरमा मात्र टेलिफोन हुन्थ्यो। इन्टरनेटको बारेमा त कसैलाई केही थाहा हुने कुरै भएन। टेलेक्स र फ्याक्सको नामसम्म सुनिन्थ्यो। त्यसैले अमेरिकी विश्वविद्यालयहरूसँग सम्पर्क गर्नका लागि हुलाकबाट चिट्ठी पठाउनेबाहेक अर्को कुनै विकल्प नै थिएन।

यसरी मैले लाइब्रेरीमा बसेर युनिभर्सिटीहरूको क्याटलग हेर्ने र छात्रवृत्ति पाइने सम्भावना भएका युनिभर्सिटीहरूको लिस्ट बनाउन थालेँ। अनि ती युनिभर्सिटीहरूलाई छात्रवृत्तिका लागि अनुरोध गर्दै धमाधम पत्र लेख्न पनि थालेँ।

‘अमेरिकाका कलेजहरूमा चिट्ठी पठाउँदा लामो कुरा नलेख्नु है।’ भनेर अमेरिकन लाइब्रेरीमै काम गर्ने एक जनाले सुझाएका थिए। अनि छोटकरीमा किन र के पढ्न अमेरिका जाने भनेर आफ्नो बायोडाटा लेख्नुपर्छ भनेर पनि सुझाब दिएका थिए। पत्र लेख्दा म खैरहनी हाइस्कुलमा हुँदाका सहकर्मी शिक्षक धनञ्जय पाठकको नामसमेत राखेर चिठ्ठी लेख्थेँ। धनञ्जयले पनि मसँगै अमेरिका पढ्न जाने रहर गरेको थियो। त्यसैले मैले लेख्दा ‘हामी दुई जना नेपालको हाइस्कुलमा १३ वर्ष पढाएका शिक्षकहरू हौं, अमेरिका आएर पढ्न चाहन्छौं, पढ्नको लागि हामीसँग पैसा नभएकोले छात्रवृत्तिको लागि अनुरोध गर्छौ, अमेरिकामा पढेर नेपालमा शिक्षाको लागि केही स्कुल र कलेजहरू खोल्न चाहन्छौं’जस्ता वाक्यहरू लेख्थ्याैँ। त्यो मेरो साथी धनञ्जय पाठक पनि अमेरिकामा पढ्न गएको थियो। पढिसकेर ऊ पनि नेपालमै फर्कियाे र विभिन्न संस्थामा काम गर्‍याे। केही वर्षअघि अस्वस्थ भएर उसको मृत्यु भयो।

त्यतिबेला काठमाडौँमा न कम्प्युटर थिए, न प्रिन्टर। टाइपराइटर नै ठुलो कुरा हुन्थ्यो। त्यो पत्र चाहिँ न्युरोडको एउटा टाइपिङ सेन्टरमा गएर एउटा चिट्ठीको तीन रूपैयाँ तिरेर टाइप गराउथेँ। अनि सुन्धाराको गोश्वारा हुलाकमा गएर सात रूपैयाँको टिकट टाँसेर अमेरिका पठाउथेँ। ती पत्रहरू अमेरिका पुगेर त्यसको जबाफ आउन ३० दिनदेखि ४० दिनसम्म लाग्थ्यो। पत्र पाएपछि हरेक कलेज र युनिभर्सिटीले जबाफ र भर्ना फारामहरु पठाउँथे तर कसैले पनि छात्रवृत्ति दिने कुरा भने लेख्दैनथेँ। छात्रवृत्ति नपाउने भएपछि ती भर्ना फारामहरु भरेर पठाउने कुरै भएन।

यसरी मैले छुट्टीका दिनबाहेक हरेक दिन कम्तीमा एउटा र कहिलेकाहीँ दुई वटासम्म पनि पत्र लेखेर हुलाकमा खसाल्ने गर्थे। त्यो काम मैले सन् १९८७ को सुरू तिरबाट १९८८ को मध्यसम्म करिब १८ महिना जति लगातार गरिरहेँ। त्यति नै बेला टोफलको जाँच पनि दिएँ। बल्लतल्ल ५५० नम्बर ल्याउन सफल भएछु। त्यति भएपछि कतिपय विश्वविद्यालयहरूमा भर्ना हुनका लागि निवेदन दिनसम्म त पुग्थ्यो, तर छात्रवृत्ति भने पाइँदैनथ्यो। छात्रवृत्ति नपाएपछि अमेरिका पढ्न जान सम्भावना नै देखिएन।

(हालै प्रकाशित महावीर पुनकाे आत्मकथा ‘महावीर पुन: सपना, सम्झना र अविरल यात्रा’ (पृष्ठ नं. ४७ देखि ५२)बाट)

सडकमा किताब बेचिरहेका महावीर पुन (भिडियोसहित)

प्रकाशित मिति: : 2023-10-24 19:20:00

प्रतिकृया दिनुहोस्

    त्यो रामकृष्ण CDO लाइ बर्दिया एक पटक बर्दिया मा पनि थियो,तेहा उस्लाइ डि.एस.पि. ले राम्ररी दनक दिएको मलाइ थाहा छ्य्बेकुब हो 😎

    • 4 महिना अगाडि
    • वीर बहादुर के.सी.

    वैज्ञानिक महाबीर पुनमगर म्याग्दीले जन्माएका नेपाली तारा हुनुहुन्छ । उहाँ धेरे इमानदार र क्षमता भएकाे व्यकी हुनुहुन्छ । नेपाल सरकारले र नेपाली जनताले अझ जान्न सकेनन । उहाँकाे बारेमा पढन पाउदा खुसि लाग्याे ।

    • 4 महिना अगाडि
    • shree Kaucha Magar