ओलीको दाबीः ०८४ मा एमालेलाई बहुमत ल्याउन असम्भव छैन
प्रधानमन्त्री केपी ओलीले हालको निर्वाचन पद्धतिमा कुनै एक दलले बहुमत ल्याउन मुस्किल भएपनि ०८४ को चुनावमा एमालेलाई एकल बहुमत ल्याउन असम्भव नरहेको दाबी गरेका छन्। सोमबार एमालेनिकट उत्पीडित जातीय मुक्ति समाजको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले एमालेका लागि बहुमत ल्याउँन सम्भव रहेकाले मिसन ०८४ मा एमालेको बहुमत ल्याउने तयारीमा जुटिरहेको बताए। ओलीले भने, ‘हामीले अहिले यो प्रणाली चुनिसकेका छौं। अहिले यही कायम रहन्छ। यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्छ। चुनौतीपूर्ण भएपनि एमालेका लागि सम्भव छ। त्यसैले हामीले मिसन ०८४ एमालेको एकल बहुमत ल्याउने तयारीमा जुटिरहेका छौं।’ उनले देशलाई विकास र सुशासनको बाटोमा अघि बढाउन एमालेलाई निर्णायक शक्ति बनाउनुपर्ने जिकीर गरे।
बिएल संवाददाता - काठमाडौं