तीनकुने घटनालाई कुनै ‘धर्म वा आस्था’सँग जोड्न मिल्दैन्: गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूको सवालमा जवाफ दिँदै गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा व्यक्त गरे। ‘कुनै धर्म उत्कृष्ट र कुनै कम उत्कृष्ट भन्ने मेरो आशय होइन, तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने व्यहोरा अनुरोध गर्दछु,’ गृहमन्त्री लेखकले भने, ‘हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्छ त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन। त्यसैले, हिंसालाई धर्मसंग जोड्न सकिँदैन। तीनकुनेमा गरिएको राजतन्त्रको वकालतको विषय नेपालको संविधान विपरित छ जसलाई कुनैपनि विषयमा उचित मान्न सकिँदैन।’ उनले उक्त घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं