कैलाश पौड्याल
जति पढे पनि थोरै लाग्छ,
जति बढे पनि सानै लाग्छ।
आफन्तको के कुरा गरूँ,
हृदय छोयो—खाली नै लाग्छ।
म भिखारी।
आमाको ममतामा
स्नेहले छोपिएको
त्यो शिक्षार्थमयी कथा,
आज वेदना बोकेर
टुहुरो भई
आँसुको सहारामा हिँड्दैछ—
म भिखारी।
पाइला तान्ने धेरै भए,
स्नेह गर्ने परै गए।
एक्लोपनको क्षितिजमा
आशाको लामो श्वास फेर्दै
उभिएको छु—
म भिखारी।
न कोही साथ भयो,
न केही आश रह्यो।
मान्छेले मान्छेलाई
मान्छे भनेन,
अर्थविहीन ठानी
मान्छे गनेन।
कसरी हिँडूँ?
जताततै शूल छन्।
हाम्रा मान्छे चाम्रा भए,
मुस्काउनु पनि
भूल भयो।
भूगोलको गन्जागोलमा
एउटा हाँसो,
एउटा मुस्कान,
शान्ति र आनन्दको
अन्वेषणमा
रित्तो पाउ नाचिरहेको—
म भिखारी।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया