
२५ करोडको मालिक सार्वजनिक गर्न रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले काठमाडौंको टोखाबाट समातिएको २५ करोड रुपैयाँको मालिक सार्वजनिक गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगतमा ३५ किलो, ८० किलो परिणाममा सुन समातिए पनि त्यसको मालिक पत्ता नलागेको भन्दै अहिले पनि त्यस्तै हुने आशंका व्यक्त गरेका हुन्। उनले भने, ‘२५ करोड रुपैयाँ टोखामा समातियो। विगतमा पनि कहिले ३५ किलो, कहिले ८० किलो सुन समातियो भनेर सुन्यौं। ड्राइभरलाई, भरियालाई मात्रै थुनेर राखियो। कहिलेपनि त्यसको मालिक को हो भन्ने पत्ता लागेन। यसपाली पनि यो २५ करोडको मालिक पत्ता नलाग्ला र ट्रक ड्राइभरलाई थुनेर नै थामथुम पारिएला कि भन्ने डर छ। यसरी नै सधैं भरियामात्रै समातेर र कालाबजारीहरूलाई संरक्षित गरिराखेर सुशासन कसरी हुन्छ?’

बिएल संवाददाता - काठमाडौं