
एजेण्डाको नजिक पुगिसक्यौं, अब बिग्रियो भने हामीबाटै बिग्रिन्छः राजेन्द्र लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण आन्दोलनमार्फत नै एजेण्डा स्थापित गरेर छाड्ने बताएका छन्। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति उपत्यकास्तरीय जनजागरण तयारी बैठकमा बोल्दै उनले आफूहरू एजेण्डाको नजिक पुगेकाले कोहि पनि उत्ताउलो हुन नपर्ने बताएका हुन्। उनले भने, ‘सबैले आफ्नो जिम्मेवारी कर्तव्य इमानदारितापूर्वक निर्वाह गर्नुपर्छ। शान्तिपुर्ण आन्दोलनले एजेण्डा स्थापित गरेरै छाड्छौं। हामी एजेण्डाको नजिक पुगेका छौं। तर यसको लागि कोही पनि उत्ताउलो हुनुहुँदैन। बिग्रियो भने हामीबाटै बिग्रिने हो। हामी सबै जिम्मेवार हुनुपर्छ। इमानदार हुनुपर्छ।’ साथै उनले जेठ १५ गते हुने राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलनमा सबैको सहभागिता गराउनुपर्ने बताए। उनले आन्दोलन सम्पूर्ण नेपालीको साझा आन्दोलन हो भन्ने ढंगले आफूलाई अगाडि ल्याउनुपर्ने बताए। यसैगरी उनले आम जनतालाई १५ गते सडकमा ल्याउन सबैले मेहनत गर्नुपर्ने बताए। उनले अहिले थुप्रै पार्टीका शक्तिहरू मिलेकोले आफूहरू पनि मिलेर अगाडि बढ्नुपर्ने बताए।

बिएल संवाददाता - काठमाडौं