१३ दिनदेखि हराएकी गुलशनाको शव बोरामा बाँधेर गाडेको भेटियो
गत फागुन २९ गते हराएकी १३ वर्षीया गुलशना खातुनको शव बोरामा बेरेर गाडिएको अवस्थामा फेला परेको छ। गोलबजार नगरपालिका-९ गोविन्दपुर गाउँकी बालिका गुलशना गत २९ फागुन बिहान ९ बजे घर बाहिर निस्केकी थिइन्। त्यसपछि उनी फर्किनन्। मंगलबार बिहान गोठालाहरूले झाडी बुट्यान छेउछाउबाट गन्ध चलेको थाहा पाएपछि स्थानीयले इलाका प्रहरी कार्यालय मिर्चैयालाई खबर गरेका थिए। गोलबजार-९ का पूर्ववडाध्यक्ष रामपुकार कामतीले भने, ‘एकातिर गाउँमा बालिका हराइरहेको खबर डढेलो झैं फैलिएको थियो। अर्कोतिर वनमारा झाडीभित्रबाट लास कुहिएको गन्ध आएपछि गाउँमा आशंका जाग्यो। दुर्भाग्यवश आशंका सत्यमा परिणत भयो। १३ वर्षीया गुलशना बोरामा बेरिएर खाडलभित्र मृत अवस्थामा फेला परिन्।’
बिएल संवाददाता - सिरहा