नेपाली मूलका बर्मेलीको कथा र दार्जीलिङका १६ गोर्खा तन्नेरीको मृत्यु

दार्जीलिङका १६ जना गोर्खा तन्नेरी कसरी मरे भन्ने सत्य कथा मैले उपन्यास 'माटो बोल्दो हो'मा सजाइदिएको छु।

दोस्रो विश्वयुद्धको बेला असमको लिडु भन्ने ठाउँमा बाटो खन्न जाँदा १६ गोर्खा तन्नेरीको मृत्यु भएको हो। यो बाटो लिडुको नजिक लेखापानीबाट खनेर बर्मा हुँदै चीनको कन्मिंगसम्म खनिएको थियो। जुन बाटोलाई लिडु रोड भनिन्थ्यो।

यही लिडु रोडलाई पछि अमेरिकाको 'जेनरल जोसेफ डब्ल्यू स्टीलवेल'को नाममा 'स्टीवेल रोड' भनेर राखियो। अहिले लिडु रोडलाई यही नामले जानिन्छ।

लेखापानीको प्रसंग आएपछि इन्द्रबहादुर राईको 'मास्टरपीस' कथा 'जयमाया आफू मात्र लिखापानी आइपुगी'लाई बिर्सन कहाँ सकिन्छ र!

धेरै नेपालीभाषीहरू आज पनि यो कथाबारे जानकार हाेलान्। दोस्रो विश्वयुद्धको समयमा थात-थलो छाडेर लिखापानी पुगेका नेपालीमूलका बर्मेलीलाई लिएर कथाकार ईन्द्रबहादुर राईले सन् १९६१ मा लेखेका थिए, 'जयमाया आफू मात्र लिखापानी आइपुगी'।

दार्जीलिङका १६ जना गोर्खा तन्नेरी कसरी मरे लेख्नुभन्दा अघि अरू विषयमा जानकारीः 

मैले उपन्यासमा समावेश नगरेको कुरा हो, शिवकुमार राईको उपन्यास 'डाक बंगला'। यो उपन्यासको पृष्ठभूमि बर्मा (अहिलेको म्यानमार) सँग सम्बन्धित छ, जतिबेला दोस्रो विश्वयुद्ध प्रारम्भ भएको थियो।

उपन्यासको यो पृष्ठभूमि वा रूपरेखा शिवकुमार राईले सन् १९४२ मा पाएका थिए, जतिबेला दोस्रो विश्वयुद्धको बेला बर्माबाट हाम्रा मान्छे जापानी सेनाबाट जोगिन भनेर शरणार्थी भई भारत पसेका थिए। भारतका ठाउँ–ठाउँमा शरणार्थी शिविर खोलिएको थियो।

यसै क्रममा खरसाङमा पनि 'बर्मा रिलिफ क्याम्प' खोलिएको थियो। उपन्यासको भूमिकामा शिवकुमार राईले व्यक्त गरेका छन्। यही क्याम्पमा शिवकुमार राईले पनि शरणार्थीलाई सहयोग गरे र हिमचिम गर्ने मौका पाएकाले नै उनीबाट उपन्यास 'डाक बंगला' जन्मेको हो।

मैले यहाँ शिवकुमार राईको माध्यमबाट खरसाङमा 'बर्मा रिलिफ क्याम्प' को कुरा यसकारण ल्याउनुपऱ्यो कारण खरसाङमा खोलिएको 'बर्मा रिलिफ क्याम्प' मा सुबेदार रनवीर राई अनि उनका सपरिवार आश्रय लिन पुगेका थिए– सन् १९४२ तिर।

अब लेख्नुपर्ने प्रसंग- सुबेदार रनवीर राईको थिए त? 

उत्तर- उनी दोस्रो विश्व युद्धको बेला सन् १९४२ मा आफू अनि आफ्ना सपरिवारलाई जोगाउन भनेर बर्माबाट शरणार्थी भएर भारत पसेका थिए।

उनका बाबा कालुराम राई नेपालबाट सन् १९०० शताब्दीमा बर्मा भासिएका थिए। त्यहीँ नै रनवीर राईको जन्म भयो। बरमन (बर्मा) राइफलमा सिपाही हुन पुगेका हुन्, उनी। सन् १९१७ मा जमदार अनि सन् १९२० मा सुबेदार भए। त्यसपछि सेवानिवृत्त भएर बर्मामा आफ्ना सपरिवारसँग आनन्दपूर्वक जीवन व्यतित गरेका तर दोस्रो विश्व युद्धले गर्दा आफ्नो जन्मथलो बर्मा त्याग्नुपरेको उनके कहालीलाग्दो कथा छ।

खरसाङमा स्थापित बर्मा शरणार्थी शिविरमा आश्रय लिनपुगेका तर शिविरमा बस्न मन नलागेर असम आएका कारण उनका आफन्त असममा थिए। अन्तत: जीवनको अन्तिम चरणमा विष्णुपुर १० माइलमा शदियाबाट बसाइँ सारेर आए र त्यहीँ गाउँमा १०० वर्षभन्दा बढी आयुमा देह त्यागे।

बर्मेली हुँदा उनलाई विष्णुपुरका गाउँलेहरूले रनवीर राई नभनी 'बर्मा सुबेदार' भन्थे। तर विष्णुपुरमा बाँचिरहेका अहिलेका नवपिढीलाई यो कथा थाहा छैन। धेरैजसो अग्रजहरूलाई पनि थाहा छैन कारण- 'अरूले नभएको इतिहास खन्छ। गोर्खाहरूले भएको इतिहास पनि पुर्छन् रक्सीमा डुबेर।'

यी नै रनवीर राईकी कान्छी छोरी रेनु राईसँग यो लेखकले व्यक्तिगत रूपमा भेटेर उनी र उनका पिताबारे साेधखोज गरेपछि दार्जीलिङका १६ जना गोर्खे तन्नेरीहरू मरेको सत्य कथा प्रकाशमा आयाे।

सन् १९४२ मा रनवीर राई बर्माबाट शरणार्थी भएर भारत पस्दा रेनु राई १२/१३ वर्षकी थिइन्। तिनले मलाई भनेकी थिइन्- 'त्यसबेला स्टीलवेल रोड पक्का भएकै थिएन। कच्चो बाटो भएर उनीहरू बर्माबाट पैदल हिँडेर आएका थिए।'

शदियामा उनीहरू बसेकै बेलातिर सन् १९४२ मा कच्चो बाटोलाई  पक्का बाटो बनाउने प्रक्रिया लिडु (लेखापानी) बाट थालियो। तिनका पिता अङ्ग्रेजी राम्ररी बोल्ने भएकाले उनले सुपरभाइजरको रूपमा लिडुमा पक्का बाटो बनाउने काम पाए। उनीसँग सहायकको रूपमा अमृत मोक्तानका बाबाले पनि काम गर्थे।

त्यसबेला लिडु, लेखापानीको क्षेत्र घामको किरणधरी छिर्न नसक्ने घनघोर जङ्गल थियो। औलेज्वरो उस्तै लाग्ने। यसैकारण बाटो खन्ने मजदूर आउन डराउँथे। मजदुर पाउन साह्रो हुँदा बाहिर जानुपर्थ्यो। यही क्रममा मजदुर खोज्न रनवीर राई र अमृत मोक्तानका बाबा गोर्खा मजदुर खोज्न खरसाङ, दार्जीलिङतिर बेलाबेलामा जान्थे।

एकपल्ट अमृत मोक्तानका बाबाले दार्जीलिङबाट भर्खरका १६ जना पट्ठा गोर्खाहरू मजदुरका रूपमा लिएर आए। आएकै राती १६ जना पट्ठा गोर्खेहरूले दही र भात गजबले खाएछन् अनि भोलिपल्ट ती सबै युवाहरू मलेरिया लागेर मरे...

प्रकाशित मिति: : 2021-07-21 05:59:00

प्रतिकृया दिनुहोस्